सरकारको रवैयाले प्रतिगमनको लहर बढ्यो–भट्टराई

360
views

काठमाडौं,१७, असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कोरोना महामारी नियन्त्रणमा भन्दा चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा लागेको आरोप लगाएका छन् ।

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारलाई भेट्ने क्रममा भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको आरोप पनि लगाए । उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताए ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छनं । उनीहरुसँगको भेटमा डा. भट्टराईले सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकारले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफु लज्जित रहेको समेत बताए ।

कोभिडलाई बहाना देखाउँदै जवरजस्ती निकालिएका कर्मचारीलाई निःशर्त पूनर्वाहली, तोकिएको पारिश्रमिक दिनुपर्ने, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आन्दोलनमा छन् ।