चन्द्रमामा माटो ल्याउन पुगेको चीन यानको सफल अवतरण

826
views

एजेन्सी, १७, मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मंगलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण भएको हो ।

चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासन (सीएनएसए) ले मङ्गलबार राति स्थानीय समय अनुसार ११ बजेर ११ मिनेटमा यान अवतरणको जानकारी दिएको हो । २४ नोभेम्बरमा प्रक्षेपण गरिएको यान अवतरण भएपछि अन्वेषण शुरु गरेको छ । यानले ४८ घन्टा चन्द्रमाको शतहमा काम गर्नेछ ।

चन्द्रमाको शतहबाट दुई केजी नमूना संकलन गरेर पृथ्वीमा ल्याउनेछ । यति ठुलो परिमाणमा अहिलेसम्म चन्द्रमाको माटो र चट्टान पृथ्वीमा कुनै यानले ल्याउन सकेको छैन । चार दशकअघि सर्वप्रथम रुसले पहिलोपटक चन्द्रमाबाट माटो ल्याएको थियो । त्यसपछि अमेरिकाले पनि माटो ल्याएको थियो ।

चीनको अन्तरीक्ष कार्यक्रम अन्र्तगत पछिल्लो समय चन्द्रमा र मङ्गल ग्रहसम्बन्धी अन्वेषण र मिसन चलिरहेको छ । उसले मानवसहितको यान चन्द्रमामा पठाउने लक्ष्य लिएर काम गरिरहेको छ ।