काँग्रेस केन्द्रिय समितिको बैठकमा देउवा र पौडेलबीच बाझाबाझ

857
views

काठमाडौं, ८, पुस । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध सडकमा जाने कि अदालतको निर्णय पर्खिने भन्ने विषयमा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सभापति देउवाले अहिले नै सडकमा जान हतार गर्न नहुने आशय व्यक्त गर्दै संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकताको प्रश्नमा निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने उनको तर्क थियो ।

बैठकमा वरिष्ठ नेता पौडेलले त्यसको प्रतिवाद गर्दै ‘कसले के भन्छ भन्ने छाडेर ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक छ भनेर सडकमा जानुपर्ने तर्क गरे ।

यस विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की नै भएको बैठकमा सहभागी एक नेताले बताए । त्यसपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलले सडकमा जानुपर्छ भन्दा सभापति देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम ? भन्दै नेताहरूले प्रश्न गरेपछि त्यसअघि नै देशभर प्रदर्शन गर्ने तयारी गरिएको एक नेताले बताए ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय समितिका चार नेताले बोलेका थिए । बुधबार पनि केन्द्रीय कार्यसमिति बैठक केहीबेर बस्यो र चार जना बोलेर सकिएको छ ।

बैठकमा डा. रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताए ।

नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए ।

नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए ।