समानान्तर कमिटी र अन्तरसंघर्षको निष्कर्षमा खनाल–नेपाल

1117
views

काठमाडौं, ६, चैत्र । नेकपा एमालेको खनाल–नेपाल समूह पार्टीभित्रै अन्तरसंघर्षको विकल्प नभएको निष्कर्षमा पुगेको छ । २०७१ मा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट पारित पार्टी नीतिको आडमा ओली प्रवृत्तिविरुद्ध अन्तरसंघर्ष चलाउने सो समुको निष्कृर्ष छ । खनाल–नेपाल समूहको दुईदिने राष्ट्रिय भेलामा स्थानीय कमिटीसम्म समानान्तर सांगठनिक गतिविधि गर्ने सम्मको निचोडमा पुगेको छ ।

नवौं महाधिवेशनमा अध्यक्षका प्रत्याशी माधव नेपाल समूहको नीति पारित हुँदा ओली निर्वाचित भएका थिए । त्यसलगत्तै ओली समूह र नेपाल समूहका बीचमा तीव्र गुटबन्दीका आधारमा फाटो हुँदै आएको थियो । २०७२ र २०७४ मा गरी दुईपटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओली व्यक्तिवादी बनेको, चरम गुटबन्दीमा रमाएको, मदन भण्डारी फाउन्डेसनका नाममा गुटका गतिविधि चलाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेपालपक्षीय नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।

२०७५ जेठमा माओवादी केन्द्रसँग एकीकृत भएर नेकपा बनिसकेपछि पनि ओलीले गुटवादी गतिविधि कायम राखेको भन्दै पार्टीमा अन्तरविरोध बढ्दै गएको थियो । ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारतः विभाजित नेकपाले समानान्तर गतिविधि गर्दै आएको थियो । एमालेको खनाल–नेपाल समूहको एउटा पंक्ति र माओवादी केन्द्रको ठूलो समूह एकै ठाउँमा थिए ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पूर्वपार्टीहरू ब्युँताइदिएपछि पनि एमालेका दुई समूहले फरक–फरक गतिविधि गर्दै आएका छन् । त्यसैको सिलसिलास्वरूप खनाल–नेपाल समूहले बुधबार र बिहीबार मुलुकभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको सहभागितामा राष्ट्रिय कार्यकर्ता भेला गरेको हो । भेलामा सहभागी कार्यकर्ताले एमालेलाई एकताबद्ध गर्नुपर्ने तर ओली प्रवृत्तिलाई पराजित गर्नुपर्ने राय राखेपछि त्यहीअनुसार १७ बुँदे प्रस्ताव पारित गर्दै भेला सकिएको हो । १० समूहमा छलफल गरेका नेता–कार्यकर्ताले ‘ओली प्रवृत्ति’ सुधार्नका लागि प्रयास गर्ने, त्यो नसकिए ओली प्रवृत्तिको भण्डाफोर तथा सामाजिक–आर्थिक रूपान्तरणको अभियान चलाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रदेश २ टोलीको नेतृत्व गरेकी मञ्जु यादवले नवौं महाधिवेशनयताका सबै विषयको निर्मम समीक्षा गरेर अबको योजनाबारे श्वेतपत्र जारी गर्नुपर्ने बताइन् । नवौं महाधिवेशनले पारित गरेको नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रम बनाइनुपर्ने, त्यसका लागि माथिदेखि तल्लो कमिटीसम्म छलफल चलाउनुपर्ने उनको भनाइ थियो । उनले पार्टी एकता र शुद्धीकरणको आफूहरूको प्रस्ताव ओली गुटबाट स्वीकार नभए के गर्ने भनेर प्रश्न गरेकी छन् । यो प्रश्न अरू समूहका टोली नेताले पनि गरेका थिए तर पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र ओली प्रवृत्तिविरुद्ध लड्ने बताएका नेताहरूले अन्तिम विकल्प के हुने भन्ने जवाफ दिन सकेनन् ।

उनीहरूले आफूहरू आधिकारिक एमाले भएकाले एमालेकै नामबाट कार्यक्रम अघि बढाउन कार्यकर्तालाई सुझाव दिए । ओली प्रवृत्तिको भण्डाफोर गर्न उनले २०७१ मा पार्टी अध्यक्ष चुनिएयता के–कस्ता गतिविधि गरे, त्यसको लिपिबद्ध जानकारी दिन कार्यकर्ताले मागसमेत गरेका छन् । ‘अब हामीले केपी ओली र उनको प्रवृत्तिमा सुधार आउला भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ, त्यसैले यो कार्यकर्ता भेला ओली र उनको गुटलाई धम्क्याउने वा घुर्क्याउने जमघट जस्तोमात्रै नबनोस्,’ पेसागत समूहका तर्फबाट नन्दलाल बञ्जाडेले भने, ‘पार्टीका पहिलो पुस्ताका नेताहरूले अभिभावकीय भूमिका निर्वाह गरी दोस्रो पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको वातावरण तयार गर्नुपर्छ ।’ अधिकांश समूहले पार्टीको विधानअनुसार ७० वर्षीय उमेर हद पालना गर्नुपर्ने र युवालाई नेतृत्वमा पु¥याउनुपर्ने प्रस्ताव गरेका थिए । भेलामा सहभागीहरूले पछिल्लो समय घरेलु हिंसा, महिलाविरुद्धको अपराध र बलात्कार बढेको बताएका थिए । कान्तिपुरबाट