कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७ हजार ६६० संक्रमित

459
views

काठमाडौ, २१, बैशाख । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरणमा उल्लेख गरेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।