बुहारीलाई करणी गरेको आरोपमा जेठाजु पक्राउ

गाउँमै मिलापत्र गराउने वडा सदस्य समातिए

863
views

रोल्पा, १०, साउन । बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा रोल्पा प्रहरीले जेठाजु नाता पर्ने ५१ बर्षिय पुरुषलाई पक्राउ गरेको छ । बुहारीलाई जवरजस्ती करणीको घटना गाउँमै मिलाएको आरोपमा सोही वडाका वडा सदस्य हिम बहादुर बिष्ट सहित उनीसहित एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पीडितका ससुरा समेतलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

श्रावन २ गते बिहान ३ बजेको समयमा घटना पश्चात पीडित महिलाले कराएपछि ससुराले थाहा पाएका थिए । पीडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिम बहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए । वडा सदस्यले गाँउमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए ।

श्रावन ३ गते करिव १ बजेतिरबाट वडा सदस्यसहित छलफल सुरु भयो । छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरे । छलफलमा जुटेकाले उनलाई बीस हजार रुपैँया जरिवाना समेत तोकेको अनुसन्धानमा खुलेको छ ।

जसमध्ये पाँच हजार रुपैयाँ पीडित महिलाको लागि र बाँकी पन्ध्र हजार रुपैयाँ गाँउको एक कुनै कोषको लागि छुट्याउने र पीडितले पाउने पाँचहजार रुपैयाँबाट एक हजार रुपैयाँ छलफलमा जुटेकाहरुले चिया खाजाका लागि छुट्टयाएको र पाँचसय रुपैयाँ पीडितले ससुरालाई मान राख्न दिनुपर्ने सहमति भएको थियो ।

पीडित महिलाले आँफु अन्यायमा परेको भन्दै माइतिपक्षका आफ्ना बाबालाई जानकारी गराई प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेपछि अभियुक्त जेठाजु पर्नेलाई नियन्त्रणमा लिई अनुसधान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख नरेशराज सुवेदीले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौरमा राखि अनुसन्धान थालिएको छ ।