१५ शैयाको पर्वत जिल्ला अस्पताल ५० शैयामा

सामान्य ज्वरोदेखि मुटु–मिर्गौलासम्मको उपचार

1769
views

नवदृष्टि न्यूज डेष्क
पर्वत, १०, साउन । २०४६ सालमा १५ शैयाको मान्यता प्राप्त पर्वत जिल्ला अस्पतालले यसैबर्ष ५० शैयाको मान्यता प्राप्त गरेको छ । पछिल्लो ३ बर्षको अवधीमा अस्पतालका सेवा सुविद्याहरुलाइई थप व्यवस्थित र प्रभावकारी बनाउँदै संघ, प्रदेश, स्थानीय सरकार, व्यक्ति तथा संघ संस्थाहरुसंगको सहयोग÷सहकार्यमा अत्याधुनिक उपकरण र प्रविधियुक्त मेशिनहरुको व्यवस्थापनले अस्पतालले नयाँ रुप लिएको हो ।

पछिल्लो तीनवर्ष यता पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माणाका लागि ३१ करोड, क्वाटर निर्माण गर्न २ करोड १३ लाख, प्रशासकीय भवन निर्माणका लागि ९८ लाख, अस्थायी ईनडोर भवन निर्माणका लागि ८४ लाख, आई सी यु कक्ष स्थापना, ट्रान्सफर्मर जडान, आईसोलेसन कक्ष निर्माण गर्न ४० लाख, हेल्प डेक्स तथा सुरक्षा एकाई निर्माण पाँचलाख, खानेपानी योजना निर्माणका लागि ९० लाख रुपैया बजेट भित्रिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

पर्वत जिल्ला अस्पतालमा अपरेशन सेवा, जटिल प्रसुती, हर्निया, एपेन्डिक्स, भ्यासेक्टोमी तथा हाईड्रोशिल लगायत अन्य अपरेशन हुन थालेको छ । अस्पतालले अत्याधुनिक एनेस्थेशिया मेशिन, प्रयोगशाला सेवा, थाईराईड, भिटामिन डि, कल्चर गर्ने उपकरण, डिजिटल प्रविधिबाट एक्सरे सेवा, १०० एम ए को एक्सरे सेवालाई अत्याधुनिक फुल्ली डिजिटल प्रविधि सहित गुणस्तरिय सेवा प्रदान गर्न थालेको छ ।

पर्वत जिल्ला अस्पतालमा अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा, मृगौला डायलासिस (डायलासिस गर्ने विरामीलाई निःशुल्क रगतको व्यवस्था, मुटुको ईको परिक्षण, दाँत उपचारमा विशेषज्ञ सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना लैङ्गिक, घरेलु तथा अन्य प्रकारको हिंसामा परेका महिला तथा बालबालिकाहरुको निःशुल्क उपचार, ५ बेड आई सी यु र ८ वटा अत्याधुनिक भेण्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना भएको अस्पतालले जनाएको छ ।

सरकारी अस्पताल भनेपछि उपचार पाईदैन भन्ने विरामीहरुको मानसिकता युर्टन भएको सेवाग्रहीको भनाई छ । सरकारी अस्पतालमा सेवा सुविद्यासँगै सरकारी अस्पताल सेवादायक निकायमा परिणत हुँदा विरामीहरुको विश्वास बढ्दै गएको क्षेत्र मोदी गाउँपालिकाबाट अस्पताल आएका सेवाग्राही बहादुर रेग्मीको भनाई छ ।

पर्वत अस्पतालमा भएको उच्चतम विकास र सेवा सुविद्याले विरामीहरुमा विश्वास बढ्दै गएको र अस्पतालमा भएको व्यवस्थापनले यस क्षेत्रका नागरिकहरुलाई धेरै खर्च गरेर ठुला अस्पतालमा जानुपर्ने बाध्यता नभएको अस्पताल बाग्लुङ्ग बलेवाका सेवाग्राही सागर जिसीको भनाई छ ।

विगतका वर्षहरुमा दैनिक ६० देखी ७० जना समान्य उपचारको लागि आउने गरेको अस्पतालमा अहिले दैनिक डेड सय देखी २ सय सम्म विरामीहरु विरामीहरु आउने गरेको डा. मानव तिवारीले जानकारी दिए ।

उनले चालु वर्षमा मात्रै ५०० जनाले सुत्केरी सेवा लिए, ७८ सुत्केरीले  अपरेशन सेवा पाएको, दैनीक १५ जनाले मृगौला डाईलाईसीस सेवा लिइरहेको तथा थाइराइड, मुटुरोग लगायतका ३० भन्दा बढी विरामीले उपचार गराएको बताए ।