एमालेमा मध्यमार्गी समुहको किचलो अन्त्य

1067
views

काठमाडौं, ८, भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेका ‘एकता पक्षधर नेताहरू’ दोस्रो तहका नेताहरु बीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

१० बुँदे कार्यान्वयनको सहमति अनुसार मंगलबार एमाले स्थायी कमिटीको बैठक समेत बोलाइएको छ । अब पार्टी २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कने छ । उक्त अवस्थामा पार्टीको समहमति कायम गर्न नेकपा एमालेका कमिटीहरू क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरूले बताएका छन् । ओली निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि बस्ने स्थायी कमिटी बैठकले केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील बनाउने छ’ भट्टराईले भने, ‘ती कसरी क्रियाशील हुन्छन् भोलि हामी त्यो ढाँचाबारे कुरा गर्छौ । भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ ।’

२०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ रामबहादुर थापा ‘बादल’ समूह (पूर्व माओवादी समूह) बाहेकको बैठक भनेर बुझ्नुपर्ने बैठकमा सहभागी नेताहरुको बुझाई छ । बादल समूहबारे एमालेको संयुक्त बैठक पश्चात् निर्णय लिइने वैठकमा सहभागी एक नेताले बताए ।

लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।

१० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समय तालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ । कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप–महासचिव विष्णु पौडेल सदस्य छन् ।

निर्वाचन आयोगले पार्टी विभाजनको औपचारिकताका लागि माधव नेपाल पक्षलाई सनाखतका लागि बोलाएको दुई दिनअघि एमालेको ‘मध्यमार्गी समूह’को अन्त्य भएको हो । सोमबार बिहान ‘मध्यमार्गी समूह’ले ‘निर्णायक वार्ता’ गरेर अध्यक्ष केपी ओलीसँग समाहित हुने निर्णय लिएको हो ।