पर्वत अस्पतालमा ७५ लाख लगानीको अक्सिजन प्लान्ट स्थापना

535
views

पर्वत, ४, मंसिर । पर्वत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गरेका हुन् । सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए ।

दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना हुनेछैन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

अक्सिजने प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

एशोसिएशनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ ।

झण्डै रु ७५ लाख लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेका छन् ।