नाटक लेखन कार्यशालाका लागि ८ जना छानिए

562
views

राजाराम पौडेल
पोखरा, २८, मंसिर । पोखरामा पौष १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनोट भएका छन् । नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएको पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले जनाउनुभयो ।

यसरी छनोट हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी रहेका छन् । यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत छनोटमा पर्न सफल भएका छन् ।

नाटकको नमुना पठाएर आवेदन दिएका मध्येबाट सहभागी छनोट गरिएको कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बताउनुभयो । ‘कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्ने थियो । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर पठाउनुभयो त्यसको आधारमा सहभागी छनोट गरिएको हो’ संयोजक गुरुङले भन्नुभयो ।

नाटक लेखन कार्यशाला गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेका हुन् । पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला ११ दिनसम्म चल्ने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बताउनुभयो । ‘पौष १ गतेबाट ११ गतेसम्म निरन्तर विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यशाला सञ्चालन गरिनेछ । ११ दिनसम्म पुरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउन खोजेका छौं’ कुलपति ढकालले भन्नुभयो ।

कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नुहुनेछ । प्रशिक्षक लामिछानेलेनै आवेदन दिएका मध्येबाट ८ जना छनोट गर्नुभएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो ।

‘हामीले सुचनाजारी गरी नाटकको आवेदन आह्वान गरेका थियौं । उक्त सुचनाको आधारमा १५ नाटककारले आफ््नो नाटक तोकिएको समयभित्र दर्ता गर्नुभएको थियो । १५ नाटकबाट प्रशिक्षक खगेन्द्र लामिछानेले ८ नाटककारका नाटकलाई छनोट गर्नुभएको हो’ परिवर्तनले भन्नुभयो । कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुनेछ ।