राष्ट्रिय सभा चुनाव : कुन प्रदेशमा को विजयी ?

483
views

काठमाण्डौ, १३, माघ । आगामी छ वर्षे कार्यकालका लागि राष्ट्रिय सभा सदस्य १९ रिक्त पदमा बुधबार भएको चुनावमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा निर्वाचित भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् ।

चुनावमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भए ।

नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वाचित भए ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित भएका हुन् ।

जनता (समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा पनि निर्वाचित भए ।

एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाउन सफल भएको छ, बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् ।

राष्ट्रिय सभामा २४ सिटमध्ये ७ सिट गुमाएको एमालेको अब १७ सिट भएको छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको १५ सिट पुगेको छ तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८, जसपाको ३ सिट र राजमोको १ सिट भएको छ ।

आउँदो फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती पदका लागि चुनाव भएको हो ।