आईसीसी विश्वकप लिग–२: नेपाल ओमानसँग पराजित

616
views

काठमाडौं, २७, जेठ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाउनुभयो । देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए । विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गरेका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोडे ।

ओपनर सुवास खकुरेलले ३ र कप्तान सन्दीप लामिछाने २ रन बनाउमा आउट भए । सुशन भारी सुन्य रनमा अविजित रहे । बलिङमा नेपालका ओमानका जिसन मक्सुद र खवर अलिले तीनतीन विकेट लिए । बिलाल खानले दुई विकेट झारे । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

ओमानका लागि जिसन मक्सुदले अविजित १ सय ४ रनको शतकीय इनिङ्स खेले । खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन बनाए । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिए । ३८ रन खर्चिएर पाँच विकेट लिएका करण एकदिवसीय अन्तराष्ट्रियको एउटै खेलमा नेपालका लागि पाँच विकेट लिने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले पनि पाँच विकेट लिएका थिए ।

यस हारसँगै लिगमा १३ खेल सकेको नेपाल १२ अंक सहित छैटौं स्थानमा छ । ४२ अंक बनाएको ओमान शीर्षस्थानमा छ । दोस्रो खेलमा नेपालले शनिबार मेरिकाविरुद्ध खेल्नेछ । तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।

लिग–२ अन्तर्गत सिरिजमा यसअघि १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।