युवा मुक्तककार आर.पि. सी.संगमका केही मुक्तकहरु

748
views

मुक्तक

१. छल,कपट र षड्यन्त्रकारी पासाको खालमा परेर
पाण्डवहरू झैं लुटिनेछन् सब शकुनिको चालमा परेर
कलिका यी कलङ्कहरु देख्दा यस्तो लाग्छ महोदय
स्वयम् माकुराले प्राण त्याग्नेछ मान्छेको जालमा परेर।

२. पागल बनाउँछन् वियोग र उन्माद सल्लाह गरेर आउँछन्
विचलित हुन्छु चित्कार र आर्तनाद सल्लाह गरेर आउँछन्
ए जून तँ जस्तै एक्लै मुस्कुराउन कहिले सिकाउँछस् मलाई
अचेल झम्के साँझ अनि उनका याद सल्लाह गरेर आउँछन् ।

३. विगत सम्झी पार्नलाई रूनी माईत आकी छन्
गाकी मान्छे नआइदिए हुनी माईत आकी छन्
नबोलाउँ मन मान्दैन,बोलाउँ के नाताले बोलाउँ
घरमै भित्र्याउँछु सोचेकी उनी माईत आकी छन् ।

४. एउटा प्रश्न सोध्छु आमा कसरी छिरे होलान्
यति बिघ्न आँसु आँखामा कसरी छिरे होलान्
टाउको ठोक्किएर फर्किन्छन् सधैं तिल जत्रा खुसी
पहाड जत्रा दुस्ख हाम्रो दैलामा कसरी छिरे होलान्।

५. धरातल छोडेर उचाइमा नहुँदा कस्तो लाग्दैछ
विगत सम्झी पश्चत्तापमा रुँदा कस्तो लाग्दैछ
आकाश छेड्छु झैँ हुर्काइथ्यौ घमण्डको तामा
आज निहुरिएर भुईँलाई छुँदा कस्तो लाग्दैछ ।

६. तिमी नै भन कसरी छुटु कस्ले जिम्मा लिन्छ
देब्रेपट्टी खान्छ कुटुकुटु कस्ले जिम्मा लिन्छ
आँखा त म छोपेर भैगो उसलाइ नहेर भनूँला
तिम्रै नाममा धड्किने मुटु कस्ले जिम्मा लिन्छ ।

आर .पी .सी .संगम
कुश्मा नगरपालिका १,पर्वत