जलजला र बागलुङ जोड्न ५२३ मिटर लामो पुल बन्दै

655
views

पर्वत, ८, भदौ । पर्वतको जलजला गाउँपालिकासँग बागलुङ जोड्ने कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको हो ।

बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पुल बन्न लागेको हो । उक्त पुल सात करोड रुपियाँ लागतमा निर्माण हुने जनाइएको छ ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँंसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ ।

उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ ।

बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो ।

बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।