आफ्नै भवनमा ठुलीपोखरी प्रहरी चौकी

344
views

पर्वत, २९ भदौ । पर्वतको ठुलीपोखरीमा प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २ करोड ४८ लाख लागतमा ठुलीपोखरी प्रहरी चौकीको भवन निर्माण भएको हो । २०५४ सालमा स्थापित प्रहरी चौकी भवन निर्माण सँगै भाडाको घरबाट आफ्नै सुविधासम्पन्न भवनमा स्थानान्तरण भएको हो । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको सहयोगमा २०७८ बैशाखमा निर्माण शुरु भएको थियो ।

निर्माणको जिम्मा लिएको पृथ्वी जयलक्ष्मी जेभीले करिव १५ महिनाको समयभित्र भवन निर्माण सम्पन्न गरी सोमबार हस्तान्तरण गरेको हो ।

पर्वतको कुश्मा नगरपालिका वडानं. १०, ११, १२, १३ र १४ लाई समेत सुरक्षा प्रदान गर्ने गरी स्थापना भएको प्रहरी कार्यालय विगतको द्वन्दकालिन समयदेखि भाडा र पछिल्लो समय स्थानीयको सहयोगमा स्थानीय विद्यालयको लाइब्रेरीमा बसेको थियो ।

भवनको उद्घाटन समारोहमा बोल्दै नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालय कास्कीका प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले भवन मात्रै गुणस्तरीय र सुविधा सम्पन्न भएर नहुने भन्दै स्थानीयबासीहरुलाई प्रभावकारी, निष्पक्ष सेवा दिएर मन जित्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै जोशीले नेपाल प्रहरीको काम कर्तव्य अधिकार कानुनी शासन स्थापित गराउने भएको बताउँदै कसैको हुकुमी शासनले प्रहरी प्रभावित नहुने समेत आग्रह गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सुविधासम्पन्न भवन निर्माण सँगै सेवामा पनि गुणस्तर र विश्वासिलो हुने अपेक्षा व्यक्त गरेकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीको निर्देशनलाई जिल्लामा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।