महँगियो अमेरिकी डलरको भाउ

466
views

काठमाण्डौ । अमेरिकी डलरको भाउ आज झन् महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ ।

हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो ।

अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर स्थिर छ ।

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले भारुको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पर्छ । डलर बलियो हुँदा रेमिट्यान्स, पर्यटन र निर्यातमा फाइदा हुने भए पनि वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भने नोक्सान हुनेगर्छ ।

यस्तै औषधि उपचार, अध्ययन तथा अरु कामको लागि विदेश जानेहरुलाई पनि लागत महँगो पर्न जान्छ ।