चुनावी आचारसंहिता आजदेखि लागू के–के गर्न नपाइने ?

334
views

पर्वत, १२, असोज । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि आचारसंहिता लागू गरेको हो ।

आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् ।

स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाईने छैन ।

संवैधानिक पदाधिकारीहरुले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाउने पनि आचारसंहितामा उल्लेख छ । यस्तै, आचारसंहिताले सरकारी कर्मचारीलाई कुनै दलको पक्ष वा विपक्षमा लाग्न रोक लगाएको छ । चुनावमा खटिने कर्मचारीले पनि कुनै उम्मेदवारको पक्ष विपक्षमा प्रचार गर्न पाउने छैनन् ।

सुरक्षा निकाय र सुरक्षासम्बद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेदवारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ ।

प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् । दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ र आयोगको अनुमतिपछि उनीहरुले हेलिकप्टर प्रयोग गर्न पाउने भएका छन् ।

सार्वजनिक ठाउँमा दलको झण्डा र चिह्न राख्न नपाउने भएको छ । यस्ता कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गर्नुपर्नेछ । चुनावको प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ । दलको कार्यालयमा समेत तोकिएको आकारमा भन्दा ठूला चुनाव चिह्न र झण्डा राख्न पाइने छैन । मनोनयन र घरदैलो कार्यक्रममा जाँदा २५ जनाभन्दा धेरै जान पाइने छैन । गाडीको प्रयोगका क्रममा समेत निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।