अण्डा किसानमा खुसीयाली

1821
views

चितवन । चितवनका किसानमा खुसी छाएको छ । अण्डाको मूल्य नपाउँदा निरास बनेका किसानहरु अण्डाको मूल्यमा वृद्धि भएपछि खुसि भएका हुन् । अहिलेको मूल्य वृद्धि सन्तोषजनक अवस्था रहेको नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी निर्देशक शिवप्रसाद बरालले बताए ।

प्रतिक्रेट अण्डाको मूल्य ३३० रुपियाँ आउन थालेपछि किसान हर्षित भएका हुन् । किसानले प्रतिगोटा ११ रुपियाँ पाउने गरेका छन् । यसअघि प्रतिक्रेट ३१५ रुपियाँ रहेको थियो ।

मञ्चका अनुसार गत वर्ष २०७३ साउनदेखि असोजसम्म प्रतिक्रेट २८० रुपियाँ थियो । यो दर वृद्धि भएर कात्तिकमा आउँदा ३२५ रुपियाँ, मङ्सिरमा ३४० रुपियाँ, चैतको सुरुवातमा ३२० रुपियाँ र चैतको दोस्रो हप्ताबाट लगातार ३६५ रुपियाँमा बिक्री भएको थियो । यस वर्ष पनि एक महिना अगाडिसम्म प्रतिक्रेट ३१५ रुपियाँमा किसानले बिक्री गरेका थिए ।

अहिले नेपालमा दैनिक ३० लाख अण्डा उत्पादन हुने गरेको बताइएको छ । चितवन जिल्लामा मात्रै प्रतिदिन दस लाख अण्डा बजारमा निस्कने गर्दछ ।