नक्कली सवारीचालक अनुमतिपत्र बनाउने गिरोहकी नाइके पक्राउ

672
views

धनुषा, १५, फागुन । धनुषामा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएको रहस्य खुलेको छ । सो गिरोहले मोटरसाइकल लाइसेन्स बनाउन ६० हजार रुपैयाँसम्म असुली गर्छ । गत माघ २९ मा महोत्तरीको गौशाला नगरपालिका १२ का हरिनारायण भन्ने कृष्णदेव कुशवाहा प्रहरी चेकजाँचमा परे ।

उनीहसँग लाइसेन्स त थियो, तर नक्कली। ट्राफिक प्रहरीले नक्कली लाइसेन्स ठहर गरेपछि कुशवाहा आश्चर्यमा परे । ट्राफिक प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याए ।

प्रहरीसँगको बयानमा कुशवाहाले नागरिकता कसरी बनाएको रहस्य खोले । जनकपुरधाम उपमहानगरपालिका–९ का चन्दन मिश्रले ५ हजारमा कुशवाहालाई लाइसेन्स बनाइदिएको बताएपछि प्रहरीले छानबीन सुरु गर्‍यो ।

छानविनका क्रममा चन्दनकी आमा रुबी मिश्र पनि नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्‍न देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । फागुन १३ गते रुबीलाई पक्राउ गरिसकेको बताए ।

नक्कली लाइसेन्स बनाउने गिरोहकी नाइके रहेकी रुबी अहिले प्रहरी हिरासतमा छिन् । प्रहरीले जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनका छोरा चन्दन भने अझै फरार छन् । उनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार रुबीले छोरा र अन्य व्यक्तिलाई कमिशन दिएर लाइसेन्स बनाउने व्यक्तिको खोजी गर्न लगाउने गरेकी थिइन् ।

प्रहरी नायब उपरीक्षक कार्कीले रुबी ६० हजार रुपैया लिएर सरकारी छाप समेत किर्तेगरी नक्कली सवारी लाइसेन्स बनाउने गरेको ४ वटा उजुरी परेको बताएका छन् । उनका अनुसार रुवी मिश्रको विरुद्धमा अन्य उजुरी समेत आउने क्रम जारी रहेको छ । फेला परेको ति नक्कली लाइसेन्स कहाँ बनाइयो र अन्य कति जनाको संलग्नता रहेको विषयमा केहि खुल्न सकेका छैन ।

स्रोतका अनुसार नक्कली लाइसेन्स बनाउने रुवी मिश्रको गिरोहमा दर्जनौं व्यक्ति संलग्न छन्। रुबीले आफ्नै छोरा मार्फत लाइसेन्स बनाउने व्यक्ति खोजेर नक्कली लाइसेन्स बनाउने गर्थिन् ।

प्रहरी नायब उपरीक्षक कार्कीले सरकारी छाप समेत किर्ते भएकोले गम्भीर किसिमले अनुसन्धान भइरहेको बताए । उनले भने, ‘यो गम्भीर विषय हो, त्यसैले अहिले धेरै कुरा भन्न सकिँदैन, अनुसन्धान सकेपछि थप कुराहरु सार्वजनिक गर्छौं ।’