कोरोना (कोभिड–१९) भाइरसबाट‘त्रसित होइन, सजग बनौं’ :अर्थमन्त्री खतिवडा

614
views

काठमाडौं ।  सरकारले कोरोना ९कोभिड–१९० भाइरसबाट त्रसित नहुन आग्रह गरेको छ । नेपालीहरू सजग हुनुपर्ने बेला आएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ ।

‘हामीले आफ्नो दैनिकीलाई व्यवस्थापन गर्नुपर्ने बेला आएको छ । त्रसित भएर होइन सजग भएर हिँड्ने बेला हो यो’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘सरकारले सबै तयारी गरिसकेको छ । उच्च स्वास्थ्य सुरक्षा सतर्कता पनि अपनाइएको छ ।’

उनले बाहिरबाट हुन सक्‍ने कोरोना संक्रमणबाट नेपाली सतर्क हुनुपर्ने बताए । विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरेर सतर्कता अपनाइएको जानकारी उनले दिए । उनका अनुसार ३७ वटा नाकामा स्वास्थ्य टोली खटाइएका छन् ।

‘भारत प्रवेश गर्ने ३७ नाकामा स्वास्थ्य टोली राखिएको छ’, उनले भने, ‘विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखिएको छ ।’

उनका अनुसार सरकारले गणतन्त्र चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

ईश्वरराज पौडेललाई भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गरिएको उनले सुनाए । महावाणिज्यदूत एकनारायण ढकाल सचिवमा बढुवा भएपछि उनको ठाउँमा पौडेललाई नियुक्त गरिएको हो ।

सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्गलगायत संरचना निर्माण गर्न ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखबिरुवा हटाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उनले सुनाए ।

मन्त्रिपरिषद्ले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा राजेन्द्रबहादुर अर्याललाई नियुक्त गर्नेलगायत निर्णय गरेको छ ।