नेपाल पक्षलाई पार्टीबाट निकाल्ने ओलीको अडान

711
views

काठमाडौं, १३, चैत्र । पार्टी र सरकार दुवैमा शक्तिशाली बन्दै गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षलाई पार्टीबाट निष्कासन गर्ने तयारीमा छन् । ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाई केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेका थिए ।

त्यसपछिका दुईवटा बैठकबाट उनले विधान संशोधन नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए ।

ओलीले पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न समेत सफल भएका छन् ।

ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेका बेला केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा पार्टीभित्र नेपाल पक्षलाई निष्कासन गर्ने तयारीमा छन् ।

यता नेपाल समूहले समानान्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका थिए ।