औद्योगिक क्षेत्र लोडसेडिङमुक्त गर्ने सरकारको तयारी

891
views

काठमाडौँ, १८, वैशाख । घरायसी प्रयोगमा लोडसेडिङमुक्त गर्न सफल भएको सरकारले वैशाख अन्तिम साताबाट सबै औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन् ।

पुनले लोडसेडिङ हटाउन माग र आपूर्तिको बीचको व्यवस्थापन गर्न सबै विकल्पको प्रयोग गरेर यो तयारी हुन थालेको बताउनुभयो । यही वैशाखको पहिलो साताबाट सरकारी स्तरबाट सञ्चालित औद्योगिक क्षेत्र बालाजु, पाटन, पोखरा, हेटौँडा र बुटवल औद्योगिक क्षेत्रमा लोडसेडिङको अन्त्य भइसकेको छ भने निजी क्षेत्रका औद्योगिक क्षेत्रमा हाल तीनदेखि चार घण्टासम्मको लोडसेडिङ भइरहेको छ । ती क्षेत्रमा पनि यो समस्या हटाउने प्रयासका लागि सबै तयारी पूरा हुन थालेको मन्त्री पुनले जानकारी दिनुभएको हो ।

नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार चैतको अन्तिम साताबाट परीक्षणका रूपमा सरकारी औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने कुरामा सफलता मिलेपछि अन्य औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाउने हिम्मत र आँट आएको हो ।

प्रमुख श्रेष्ठले राजनीतिक नेतृत्वले सबै विकल्पबाट काम गर्न प्रोत्साहन र निर्देशन दुवै दिएपछि प्राविधिक रूपमा पनि सम्भावना देखिएका सबै विकल्पको प्रयोग गरिएको बताउनुभयो ।

पिकिङ प्रोजेक्टको रूपमा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना यही हिउँदमा आएको छ । सरकारको लोडसेडिङ हटाउने महवकाँक्षी प्रयासलाई यो वर्ष मौसमले पनि साथ दिएको छ । गत वर्षको भन्दा कुलेखानी जलाशयमा यो वर्ष अझै पानी बढी भण्डारण रहेको छ । गत वर्ष वैशाख १६ गतेको तथ्याङ्क हेर्दा कुलेखानी जलाशयमा एक हजार ५०५ मिटर पानी भण्डारण थियो भने यो वर्ष झण्डै चार मिटर बढी एक हजार पाँच सय नौ मिटर पानी मौजुदा रहेको छ । यसले गर्दा अझै आवश्यकता अनुसार कुलेखानी चलाउन सकिने अवस्था देखिएको छ ।

वैशाखको पहिलो हप्ताबाट हिमनदीमा पानीको मात्रा पनि बढ्दैगएको छ । भार सम्प्रेषण केन्द्रका प्रमुख श्रेष्ठका अनुसार वैशाख लागेपछि हिमनदीमा पानी बढेपछि रन अफ दि रिभर प्रणालीका जलविद्युत् आयोजनाको १० देखि १५ प्रतिशत विद्युत् उत्पादनमा वृद्धि भएको छ ।