प्रदेश–७ को स्थायी राजधानीका विषयमा मतभेद

698
views

कैलाली, १०, असोज । प्रदेश–७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन पेस गरेपछि स्थायी राजधानीका विषयमा सत्तारुढ र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यबीच मतभेद देखिएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा सो प्रतिवेदनमाथि छलफल भएको हो । प्रतिवेदनलाई सत्तारुढ दलका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । विपक्षी दलका सांसदले विरोध जनाएका हुन् । सुझाव समितिले प्रतिवेदनमा प्रदेश–७ को स्थायी राजधानीका लागि कैलाली, गोदावरीको तेघरी र नाम ‘सुदूरपश्चिम’ सिफारिस गरेको छ । विपक्षी प्रदेश सांसदले स्थायी राजधानीको स्थानका विषयमा आपत्ति जनाएका छन् ।

बैठकमा आफ्नो धारणा राख्ने सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले विशेष सुझाव समितिको प्रतिवेदनलाई पारित गर्नुपर्ने बताएका थिए । उनीहरुले स्थायी राजधानीका लागि तेघरी उपयुक्त रहेको जिकिर गरे ।तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले धनगढीमा भौतिक संरचनाका लागि करोडौं रकम खर्च गरेर अहिले राजधानी सार्ने प्रस्ताव उपयुक्त नहुने बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले पनि प्रतिवेदनमा उल्लेख प्रदेश राजधानीका विषयमा असन्तुष्टि व्यक्त गरे । बुधबार २२ जना प्रदेशसभा सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बिहीबार प्रदेशसभा बैठक नबस्ने र शुक्रबार पारितका लागि प्रस्ताव पेस गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।