अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

727
views

चितवन, माघ –८ चितवनमा यही माघ ११ देखि १३ गतेसम्म आयोजना हुने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी पूरा भएको छ ।

आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो प्रदर्शनीमा नेपाल सहित भारत, चीन, बंगलादेश, भुटान, ताइवान, पोल्याण्ड, अर्जेन्टिना, चेक गणतन्त्रसहित विभिन्न १५ वटा मुलुकका एक सय ५० भन्दा बढी स्टल रहने जानकारी दिइएको छ । प्रदर्शनीको आयोजक मिडिया स्पेश सोलुसन प्रालिका प्रबन्ध निर्देशक श्रृजल भट्टराईका अनुसार चितवनको भरतपुरमा रहेका एक्स पो सेन्टरमा आयोजना हुने प्रदर्शनीमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैँसी पालन, डेरी तथा कृषिमा भित्रिएका नयाँ औजारहरुको बारेमा जानकारी दिइनेछ । तीन वटा हल रहेको प्रदर्शनी केन्द्रमा एउटामा पोल्ट्रीजन्य उत्पादन मात्रै रहनेछ भने बाँकी दुई वटामा कृषि तथा डेरी र मेसिनरीहरुको स्टल रहने बताइएको छ ।
प्रदर्शनी अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै भट्टराईले त्यहाँबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, किसान तथा संघसंस्थाहरुमा आधुनिक प्रदर्शनीको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने बताए । पत्रकार सम्मेलनका क्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले कृषि उत्पादनमा आत्मनिर्भर हुनका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताए । प्रदर्शनीका क्रममा हुने गोष्ठी तथा सेमीनारले समेत किसानहरुलाई उत्पादनमा वृद्धि गर्नका लागि अपनाउनुपर्ने पद्धतीको बारेमा जानकारी दिने बताइएको छ ।
त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले अबको कृषि उत्पादनमा नयाँ प्रविधि भित्र्याउन नसकिएको खण्डमा कृषि क्षेत्र धराशायी हुने बताए । विदेशमा कृषिजन्य उत्पादनहरु निर्यात गर्नका लागि चितवनले लिड गर्न लागिसकेको उल्लेख गर्दै पौडेलले उत्पादनमा आधाररित उद्योगहरु बढाउनुपर्नेमा जोड दिए । चितवनबाट फूल, अण्डालगायतका सामग्रीहरु अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु भइसकेकाले गुणस्तरमा ध्यान दिँदै उत्पादन बढाउनुपर्ने अबको चुनौती रहेको पौडेलले बताए ।
सो अन्तर्राष्ट्रिय प्रदर्शनीमा पोल्ट्रीसँग सम्बन्धित ८० वटा स्टलहरु रहने बताइएको छ । चार सय भन्दा बढी उत्पादन तथा प्रविधिहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीको उद्घाटन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।