क्रान्तिका कविता

233
views

-कविता

मलाई क्रान्तिका कविता लेख्नु छ
जवसम्म हली ठुल्दाइले
हलोको अनौ समात्ने ती हातहरुले
आधुनिक मिनी ट्याक्टरको ह्यान्डल समात्न पाउदैनन् ।
विहानै भाले नवास्दै
सोझो हरीस जुवाको काठ र सोइलो खोज्न भुङाने वन सम्म पुग्न पर्दैन डम्मरे र सानू दाइ लाई ।

मलाई क्रान्तिका कविता लेख्नु छ अझै
गुप्ते दाइले भिरवाट लडेर मरेको
वुढो गोरुको चाम्रो छाला काढेर नाइरो जवसम्म वनाइरहन्छन ।
र हिड्छन त्यही नाइरो झुन्डाएर
चुलो वाल्नकै लागी मानो उठाउन विस्टाकोमा ।

लेख्नुछ मलाइ क्रान्तिका कविता
जवसम्म
घले माइला बाले एका विहानै
आरन वस्नु पर्छ
विस्टाहरुको फलाम पिटेर
रातो आसीमा झ्वाइअ पाइन हाल्नु पर्छ
कम्मरमा थोत्रो कोराको पटुकी कसेर एक छाक जाउलोको लागि ।
मलाई क्रान्तिका कविता लेख्नु छ अझै
जवसम्म लुते दाई
मेशिन वोकेर कपडा हान्दै सावहरुको दैला दैला चाहर्नु पर्छ ।
मलाई क्रान्तिका कविता लेख्नु छ अझै
पुरेत काका परुाना पुराणका पुराना किताव वोकेर
जुजुमानकहाँ धाइरहनु पर्छ ।
मलाइ क्रान्तिका कविता लेख्नु छ
एउटा किसान
परिवारको श्वास जोगाउनकै लागी
अर्काको मेला धाउनुपर्छ जवसम्म
ठेक्काको कागजमा ल्याप्छे लगाएर
अर्काको माटोमा वर्षभरी रगत र पशिना वगाएर
मुरीका मुरी वुझाउनु पर्छ
मंसिरमा आफ्नो भकारी भर्नेवेला ।
महिनौ मेहनतको खर्चले
थोरै फलेको तरकारी नुनतेल खानकै लागी
डोको वोकेर वजार पु¥याउँदा पनि फ्याँकिएको परीश्रमले
कहिले पाउँछ इज्जत र मुल्य ?
हो मलाई क्रान्तिका कविता लेख्नु छ
जहिलेसम्म
दिनभर अर्काको ज्याला मजदुरी गर्ने ज्यामीहरुले पशिनाको मुल्य मालीक वाट वुझ्न सक्दैनन्
र स्वाभिमानले मजदुरी गर्न पाउदैनन् ।
मलाई क्रान्तिका कविता लेख्नु छ अझै
जहिलेसम्म
मेरा दिदिवहिनी खुलेआम स्वतन्त्र र ढुक्क भएर हिड्न सक्दैनन्
विश्वविधालयको वुर्जुवा भट्टि उद्दोगवाट
कागजको खोस्टो लिएर सिरानीमुनी थन्काई
मेरा दाजुभाई हरुले डिप्रेशनको ट्यावलेट खानु पर्छ
हरियो राहधानी वनाएर
निलो आकाश खाडी पुगेर
रातो वाकसमा फर्किनु पर्छ ।

मलाई क्रान्तिका कविता लेख्नु छ
सुदर र कर्णालीका दुर्गम गाउँमा
जवसम्म सिटामोल नपाएर जिन्दगीको मोलनै गुमाउनु पर्छ
हुम्ला, जुम्ला र मुस्ताङका राता स्याउहरु
वगानमै कुहिएर झर्छन् ।
हिमाली भेडा र च्याङ्ग्राका उनले
वजार देख्न पाउँदैनन् ।
वहुमुल्य जडिवुटिहरुले प्रसोधन यन्त्र देख्दैनन्
विशाल नुनखानी देखी सुनखानी सम्म
त्यस्तै,
उज्याला नदिहरुले प्रकाश दिन सक्दैनन्
मलाई क्रान्तिका कविता लेख्नु छ ।।

हो मलाई क्रान्तिका कविता लेख्नु छ
कति हो कती
छाउगोठमा रन्थनिएका चेलीका दर्दानक कठिनाईहरुले न्यायको आभाष नगरुञ्जेल
वोक्सीको आरोपमा प्रताडितहरु
वलात्कृतहरु
विधवा वेरङ्गीहरु राता पहिरनमा नदेखिउञ्जेल ।
पत्थर विरजमान भएर भगवान हुने
आँफैले वनाएका महलहरुमा दलित भनेर थिचिएका कलाकारहरु छिर्न सक्दैनन्
तव सम्म लेखिरहने छु म क्रान्तिका कविता ।
चिसा सडक पेटीहरुलाई महल र खुल्ला आकाशलाई छानो वनाएर
डम्पीङसाईडमा भोजन गर्ने अनाथहरु
सडकपेटी छाड्न सक्दैनन्
स्कुल पुगेर वर्णमाला र वाह्रखरी देख्न पाउँदैनन्
तवसम्म,
लेखीरहने छु क्रान्तिका कविताहरु ।
हो मलाई क्रान्तिका कविता लेख्नु छ
जवसम्म महाकाली भोटेकोशीको वाँँधहरु अग्ला हुँदैनन्
तराईका छातीलाई डुवानको त्रास हुँदैन ।
मैले क्रान्तिका कविता लेखीरहने छु
नेपाली कागजको पन्नामा
हो मलाई क्रान्तिका कविता लेख्नु छ ।
जहिले सम्म
सुस्ता,कालापानी,लिम्पियाधुराले उन्मुक्ती पाउँदैनन्
दशगजामा हराएका जङ्गे पिल्लरहरु
खोजीदैनन् ।
वेचीएका र वुझार्ईएका खोलाहरुका पानी नेपाली वनेर वग्न सक्दैनन् ।
मलाई क्रान्तीका कविता लेख्नु छ
सर्वाहराको नाममा
जनवाद र समाजवादको नारा वेचेर खाने
पुजीँवादी दलाल, भ्रष्ट र सामन्तवादको विरुद्धमा ।
कालावजारी,भुमाफिया तस्कर र देशद्रोहीलाई खवरदार गर्नकै लागि
मलाई क्रान्तिका कविता लेख्नु छ ।
सरकार जेल हालिदे कवीता लेखेकै भरमा एउटा कवी ।
भाँचिदे एउटा कलम
मलाई यो माटोमा नङ्गा्रले चिथोरेर भएपनि लेख्नुछ एउटा क्रान्तीको कविता
र अन्त्यमा लेख्नु छ
सुखी नेपाली समृद्ध नेपाल जुन कविताको शिर्षक हुनेछ ।

निर्मल पौडेल एन.पि. घायल कुस्मा पर्वत ।