छाड्दै नीजि विद्यालय, भरिंदै सामुदायिक विद्यालय

2679
views

शिशिर पौडेल
पोखरा, ८ वैशाख । सरकारले घोषणा गरेको भर्ना अभियानसँगै सामुदायिक विद्यालयको टिम विद्यार्थीको घरघरमा पुग्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ । भर्ना अभियानले संस्थागत विद्यालयमा विद्यार्थीको क्रेज घट्न थालेको छ ।

नीजि शिक्षा महङ्गो हुदै गएको र सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएका कारण सरकारी विद्यालयप्रति विद्यार्थीको आर्कषण बढेको छ । नीजि विद्यालयहरुले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला कास्कीमा केही नाम चलेका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै बढेको छ ।

जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ख्याती कमाएको वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि.ले भर्ना अभियानलाई निरन्तरतासँगै शैक्षिक गुणस्तरमा वृद्धि गरेपछि विद्यार्थी भर्ना गर्न भ्याई नभ्याई छ । निश्चित सिटमा भर्ना खुलाए पनि तोकिएको भन्दा चौगुणा बढि विद्यार्थीको सहभागी भएपछि, विद्यार्थीको चाप थेग्न धौ धौ परिरहेको विद्यालयले जनाएको छ ।

उत्कृष्ट भनिएका नीजि विद्यालयबाट नै अधिकांश विद्यार्थी परीक्षामा सहभागी भएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

भर्नाका लागि त्यस विद्यालयमा केफ, प्रगति, पोखरा एकेडेमी, रिभरडेल, गोर्खा वोडिङ्ग, सूर्योदय लगायतका निजी विद्यालयवाट सहभागी भएपनि केही विद्यार्थीले त नाम पनि निकाल्न सकेनन् । अघिल्लो शैक्षिक सत्र भन्दा यसपाली विद्यार्थीको चाप अत्याधिक बढेको प्रधानाध्यापक आचार्यले बताए ।

अब्बल किसिमको शैक्षिक गुणस्तर र प्रविधीमैत्री वातावरणले गर्दा विद्यालयमा आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताईन् । अभिभावक, स्थानियबासी र विद्यार्थीको चाहाना अनुरुप थप शैक्षिक गुणस्तर वृद्घि गर्न आफुहरु लागि परेको शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले दाबी गरे ।