सूर्य इन्टरनेसनल अवार्डको तेश्रो संस्करण अमेरिकामा

355
views

काठमाडौं । सूर्य कर्पोरेसनले २०१८ देखि आयोजना गर्न लागेको सूर्य इन्टरनेसनल अवार्डको तेश्रो संस्करण अमेरिकामा हुने भएको छ।

२०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन। सोही संस्करण २०२१ मा हुने भएको हो।

अवार्डबारे जानकारी दिँदै सूर्य कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले यस पटकको अवार्ड रोचक र फरक हुने बताए। उनका अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंंमा हुनेछ भने नोमिनेसन जापानको टोकियोमा हुनेछ। अवार्ड समारोह भने अमेरिकामा गरिने छ।

अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालका लागि यो अवार्ड सबैभन्दा महँगो र ठूलो अवार्ड हुने आयोजकले जनाएको छ। पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेसनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न भइसकेको छ। यतिखेर आयोजक संस्था तेश्रो संस्करणको तयारीमा जुटेको छ।

कर्पोरेसनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन्। कर्पोरेसनले सामाजिक सञजालबाटै अवार्डको घोषणा गरेका हुन्।

पहिलेको संकरणमा झै अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिनेछ। उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा फिल्मकर्मीलाई जापानको टोकियोमा नोमिनेसन प्रमाणपत्र सार्वजनिक गरिनेछ। यस्तै त्यसको केही सातापछि अर्थात् नेपाली नयाँ वर्षको छेको पारी २०२१ माअमेरिकामा यो अवार्ड समारोह सम्पन्न गरिनेछ।

यसअघि सूर्य कर्पोरेसनले जापानमा साकुरा नाइट नामक साँगीतीक कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रम पनि निरन्तर आयोजना गर्दै आएको थियो। यस्तै पछिल्लो समय जापानमा नेपाली फिल्म प्रदर्शन गर्दै आएको कर्पोरेसनले नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा समेत हात हालेको छ।

निर्माण हुन लागेका केही फिल्मको अन्तर्राष्ट्रिय अधिकारका लागि समेत कर्पोरेसनले सम्झौता गरिसकेको छ। अनमोल केसीको होम प्रोडक्सनमा निर्माण हुने फिल्म र अन्य केही फिल्मसँग कर्पोरेसनले अन्तर्राष्ट्रिय अधिकारका लागि सम्झौता गरिसकेको छ।

नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा नेपाली गीत, संगीत र फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन पनि सूर्य कर्पोरेसनले सूर्य अवार्ड अगाडि सारेको अध्यक्ष लामिछानेले बताए। कोरोना महामारीका कारण ठप्प झैँ बनेको नेपाली फिल्म नगरीलाई नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र टेवा पुग्ने गरी अवार्डको तेश्रो संस्करण अमेरिकामा तय गरिएको नेपालका लागि संयोजक समीर बलामीले बताए। सूर्य कर्पोरेसनले अवार्डसँगै नेपाली फिल्मको प्रवद्र्धन र पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्ने गरी कार्यक्रम गर्दै आएको छ।

पछिल्लो पटक सम्पन्न भएको अवार्डका लागि जापानमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, पल शाह, वर्षा राउत, आँचल शर्मा, श्वेता खड्का, राजेश पायल राई, दीपाश्री निरौला, जितु नेपाल, सन्दीप क्षेत्रीलगायत पाँच दर्जनभन्दा बढी कलाकारको उपस्थिति थियो।

अवार्ड समारोह संगीततर्फ ६ विधा र फिल्मतर्फ ६ विधा राखिएको छ। जसमा फिल्मतर्फ उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता र सहअभिनेत्री समावेश छ। यस्तै संगीततर्फ पप, आधुनिक र लोक गरि ६ गायकगायिका समावेश छ।

यस्तै अवार्ड समारोहमा दुई दशकलामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मीयात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक दशक निरन्तर फिल्म पत्रकारिता गरेका पत्रकारलाई फिल्म पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।