बादल फाटेपछि देखिएको राजनीतिक परिदृष्य

280
views

–कुमार शाह
बादल फाटे घाम लाग्छ, यो प्रकृतिको नियम हो । तर अहिलेको नेपाली राजनीतिक परिदृष्यमा बादल (रामबहादुर थापा) फाटेपछि घाम लागेको होइन, आकाश खुलेको छ । विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा संसद बिघटनले निम्त्याएको घुर्मैलो राजनीतिक वातावरणमा बादल सर्लक्क फाटेपछि आकाश छङ्ग र स्पष्ट देखिएको छ । त्यो हो, नेपाली राजनीतिक भूमिभन्दा माथि आकाशमा रहेको विदेशी शक्तिहरुको स्वार्थकेन्द्रित अन्तर्राष्ट्रिय अन्तरविरोधरुपी पुँजीवादी नक्षत्र मण्डलको प्रत्यक्ष अबलोकन ।

बेला आउँछ, चन्द्र ग्रहण देख्न पाइन्छ । सूर्यग्रहण हेर्न पाइन्छ । तर बेलाले ढप्क्याएर ल्याउनु पर्छ । चिनियाँ उखान छ– ‘तिमी एक वर्ष मात्र बाँच्छौ भने धान रोप, दश वर्ष बाँच्छौ भने विरुवा रोप, तर एक सय वर्ष नै बाँच्ने हौ भने शिक्षा रोप ।’ यो शायद समय क्रमको कुरा हो । यसलाई ‘कालचक्र’ वा ‘समयचक्र’ भनिन्छ । महाभारत महाकाव्यमा यसलाई ‘सुदर्शन चक्र’ भनिएको छ । यो गतिवान समयको आवेग र प्रवेगको ‘बर्मुडा ट्रियाङ्ल’ हो ।

पश्चिमा महाशक्ति राष्ट्रहरु आजको एशियाले विश्वको वैकल्पिक पुँजीवादी महाशक्ति पैदा गर्दै छ भनेर यसको गर्भपतन गर्न/गराउन ज्यान फालेर लागिरहेका छन् । छिमेकी देश चीन यो निशानाको केन्द्रमा छ । त्यसपछिका निशाना साँधिएका देशहरुमा रुस, जापान र भारत रहेका छन् । माओ जन्मेकै देशलाई छिन्नभिन्न पार्न उनीहरुले माओको अन्तरविरोधको सिद्धान्त मज्जासँग उपयोग गरिरहेका छन् । अन्तरविरोधको प्रमुख पहलुको पहिचान र त्यसको परिचालन हो– प्रमुख द्ुस्मनविरुद्ध सहायक दुस्मनहरुलाई गोलबन्द गर्नु ।

केही वर्ष पहिले कतैबाट सूचना चुहिएर आएको थियो– समग्र एशियाको नक्सा र त्यसमा पनि दक्षिण एशियाको राजनीतिक नक्सा परिवर्तनका लागि पश्चिमा देशहरुका बीचमा ‘ग्य्राण्ड डिजाइन’ भैरहेको छ । सन् २०४५ सम्म यो उद्देश्य हासिल गरिसकिने छ । त्यो प्राकृति वा सांस्कृतिक वा सामाजिक नक्सा परिवर्तनको कुरा थिएन । त्यो थियो राजनीतिक नक्सा परिवर्तनको कुरा ।

अहिले नेपाली भूमि त्यही ग्य्राण्ड डिजाइन अन्तर्गत् महाशक्ति राष्ट्रहरुको खेल मैदानमा परिणत हुन गैरहेको छ । देशका नेता महाशक्ति राष्ट्रका एजेन्ट र तिनका पार्टीहरु महाशक्तिका एजेन्सी, अर्थात् नेपाली भूमिमा खोलिएका अन्तर्राष्ट्रिय राजनीतिक आईएनजीओमा परिणत हुन गैरहेका छन् । राजनीतिक रंगरोगनसहितका झिलिमिलि पाल टाँगेर हाम्रै आँखा अगाडि पत्याउनै गाह्रो हुने खेलहरु खेलिइरहेका छन् ।

हिंजोसम्म दुईतिहाई ल्याएको पार्टी, त्यसको सरकार, संसद, प्रतिपक्षी दल सबै थिए । आज ती कोही पनि छैनन् । सबैको असामयिक निधन भएको छ । पार्टी फोरिएका छन् । नेताहरु चोरिएका छन् । यताको नेता उता, उताको नेता यता पारिएका छन् । तरवार बेचुवा र घ्यु बेचुवाहरु सिंगोमा एक जुट हुन नसकी फुटेर फुटमा एकजुट हुन पुगेका छन् । यता पनि पूर्व एमाले र माओवादी छ, उता पनि पूर्वमाओवादी र एमाले छ ।

गजबको प्रश्न उठेको छ– होइन, फुटेकाहरु दुवैमा पूर्व एमाले र पूर्व माओवादी नै मिसिएका छन् भने सिंगोमा बस्न केले दिएन ? यहाँ नेपाली गीत निकै राम्रो गरी चरितार्थ भएको छ– ‘किन टोक्यो कमिलाले पत्तो पा’को छैन, यहाँनेर टोक्यो भनी भन्न भा’को छैन ।’ हो, यिनीहरुलाई विदेशी कमिलाले भन्नै लाज लाग्ने ठाउँमा टोकेको पक्कै हो । त्यसैले त यिनीहरु बुर्लुक्क उफ्रिएर दुई चिरा हुन गए ।

लाज छोप्नका लागि यिनीहरुले निकै अग्रगमन र पश्चगमनका कुरा गरे पनि यिनीहरुको बीचमा आएको फाटो र फुट नेपाल, नेपाली जनता र उनीहरुका हितका लागि होइन । यिनीहरुले हित चाहन्थे भने त ‘गरेर देखाऊ’ भनी नेपाली जनताले दिएको दुईतिहाई नजिकको जनादेशमाथि उल्टै किन पो धावा बोल्थे र ? धन्न कालिदास !!

यहाँ स्मरणीय कुरा के छ भने नेपाली जनताको जतिसुकै आकर्षण र आशा भए पनि एमाले र माओवादी बीचमा बनाइएको तात्कालीन चुनावी गठबन्धन पश्चिमा लबीका महाशक्ति राष्ट्रहरुको स्वार्थपूर्तिका लागि बनाइएको थियो । भलै जनताले निकै उत्साहका साथ निर्वाचनमा सहभागी भएर कम्युनिष्ट सरकार बनाउनका लागि अत्यधिक मतदान गरे पनि ।

पश्चिमा शक्तिहरुको उद्देश्य थियो, रातो रङको कम्युनिष्ट सरकारी घोडो चढेर चीनमाथि अस्त्र प्रहार गर्ने । यसका लागि डलर र आईसीको खोलो बगाइएको थियो । गाउँघरको कुनाकाप्चासम्म खसी, राँगा, बोका, ब्रोइलर आदि काटेर भोजभतेर लगाउँदै चुनाव सम्पन्न गरिएको थियो । नत्र सर्वहारा मजदुरको दुहाइ दिने यिनीहरुसँग पैसाको खोलो बगाउने के नै पो ल्याकत थियो र ? कुरो ढाँटियो र ? छैन ।

त्यसपछि पनि यिनीहरुले एमसीसी पास गरिदिएनन् । डलरखाने ओली र देउवा पंक्तिले निकै चासो राखे एमसीसी पास गर्न । तर आईसी खाने प्रचण्ड–माधवहरुले त्यति चासो देखाएनन् । बरु एक अर्काको तानातानमा चिनियाँ लबीका मानिने तात्कालीन सभामुख कृष्ण महरालाई पश्चिमा सिडजाइनमा संसदमाथि बम्बार्डसहित बलिको बोका बनाउन तयार भए ।

त्यसपछि पनि एमसीसी पास हुने वातावरण बनेन । पश्चिमा शक्तिलाई रिस उठ्यो, पैसा सबै खाइदिने काम नगरिदिने । प्रधानमन्त्री रहेका ओली अमेरिकाको गोरु चुटाइमा परे । उनले बैशाखको सुरुमा रातारात दुईवटा अध्यादेश ल्याए, आफ्नै भित्रका प्रचण्ड–माधवलाई केही गर्न नसकेपछि बाबुरामको झ्याँको झारेर प्रचण्ड–माधवलाई तर्साउन सिंगो राज्यसत्ता दुरुपयोग गरेर रातारात अपहरण र पार्टी प्रवेशका नाटक रचे । ‘छोरी कुटेर बुहारी तर्साउने’ भने झैं !

आखिर भारतले ओलीद्वारा अभिनित अध्यादेशको अमेरिकी नाटकको जवाफ ‘इन्फेन्ट्री अट्याक’ गरी फिल्डबाटै उसै रातमा दियो । परिणामतः तत्काल रातारात जनता समाजवादी पार्टीको जन्म भयो । ओली अवाक भए, बाहिरको भारतीय लबी त यति बलियो, भित्रका भारतीयलाई के गरी तह लगाउने ? उनी अमेरिकी क्यालेण्डरअनुसार अघि बढिरहे ।

अमेरिकी चासो पूरा गर्न आखिर ध्रुवीकरणमा नगई भएन । त्यो भनेको ओली–देउवा एक ठाउँमा नआएर भएन । प्रचण्ड–माधवलाई नफ्याँकी भएन । नत्र चुनावमा भूँडी फुट्ने गरी खाएको अमेरिकी डलरको ऋण–भारको वैतरणी कसरी तर्ने ? अब अंग्रेजी नाटककार शेक्सपियरको ‘द मर्चेन्ट अफ भेनिस’ को नेपाली संस्करणको दृश्यहरु सुरु भए– संसद बिटनबाट । कथामा भनिएको सर्तअनुसार ऋण नतिरेपछि ऋणीको शरीरबाट एक पौण्ड मासु निकाल्नु पनि छ र अदालतले गरेको फैसला अनुसार एक बुँद रगत पनि चुहाउन नपाइने भएको छ ।

ओली उक्त नाटकको प्रमुख पात्र साइलक बनेका छन् । अब प्रचण्ड–माधवको आईसीवाला एक ठाउँमा आएको छ । ओलीको डलरवाला अर्को ठाउँमा गएको छ । यो चिरा र ध्रुवीकरण नेपाली राजनीतिक स्वार्थका लागि भएको होइन । विदेशीको स्वार्थअनुसार भएको छ । यिनीहरुले विगतको लगानी, इतिहास र आफ्नो ‘लिगेसी’ सबै भुटेर चटपटे बनाएर मुख मिठ्याउँदै खाइसकेका छन् ।

जहाँसम्म बादलको कुरा छ, उनको पनि कुरा रहस्यमय छैन । ओली अमेरिकी क्यालेण्डर अनुसार चल्दा र प्रचण्ड–माधव भारतीय क्यालेण्डर अनुसार चल्दा अवश्य पनि बादल युरोपियन युनियनको क्यालेण्डर पछ्याइरहेका छन् । अमेरिका र युरोपियन युनियन प्रायः एकसाथ नै रहन्छन् । त्यसैले ओली र बादल एक ठाउँमा रहनुका पछाडि कुन चाहीं नवौं आश्चर्य लुकेको अवस्था रह्यो र अब ?

अबको ध्रुवीकरण बलिदानको इतिहास, आफ्ना श्रम र पसिनाको मूल्यमान्यता तथा जनताको इच्छा आकांक्षामा होइन, विदेशीको चाहना अनुसार हु्ँदै गएको छ । अबका नेता विदेशीका एजेण्ट र तिनका पार्टीहरु विदेशीका एजेन्सीमा परिणत भैरहेका छन् । त्यसैले यिनीहरुले निकै कुटिलता र धूत्याइँका साथ नेपालमा राजनीतिक आन्दोलनको युग र समय सबै सकियो, अब विकास र समृद्धि गर्न मात्र बाँकी रहेको छ भनिरहेका छन् । यिनले त यतिसम्म पनि बिर्सिइसकेका छन् कि आफूहरु पूर्वएमाले र पूर्वमाओवादी भएको हेक्कासमेत् राख्न छाडिसकेका छन् । केवल आँखा तरातर छ– ‘को अमेरिकी’, ‘को भारतीय ?!’

त्यसैले त सिंगोमा जुट्न नसकेका एमाले र माओवादी विदेशी शक्तिका स्वार्थअनुसार फुटेर आश्चर्यजनक रुपमा जुट्न पुगेका छन् । यिनीहरु अब मैनका भाँडामा परिणत हुदै गएका छन्, र विदेशीको चाहना अनुसारको एजेन्सीमा विभिन्न आकार ग्रहण गर्दै अघि बढ्ने क्रममा छन् । अहिलेको लडाइँ नेपालको ‘माइक्रो म्यानेजमेन्ट’मा अमेरिका नपसोस् भन्ने क्षेत्रीय शक्ति भारतको चाहना र चीन हान्नका लागि नेपालको ‘माइक्रो म्यानेजमेन्ट’मा नपसी काम सजिलो नहुने अमेरिकी स्वार्थबीच चलिरहेको लडाइँ हो ।

नेपालभित्र कुनै पनि कारण नै छैन सत्ताधारी ओली–प्रचण्ड टुक्रिनु पर्ने । यी त अमेरिका–भारतको स्वार्थपूर्ण टकरावका कारण विभाजित हुन गएका मात्र हुन् । जहाँसम्म भारत तथा भारतीय राजनीतिक विश्लेषक अशोक मेहताहरुको ‘चीन विरुद्धमा भारतद्वारा उठाईको कदम’ का रुपमा व्याख्या गरिएको छ, यो ग्वेलियन प्रचार मात्र हो । यसमा कुनै तुक र तथ्य छैन । किनकि ओली–प्रचण्ड एकता (चुनावी गठबन्धन) र विभाजनमा चीनको कुनै भूमिका नै छैन । जसरी ओली–प्रचण्डको चुनावी गठबन्धन बन्दा चीन आश्चर्यचकित भएको थियो, त्यसै गरी हाल फुट्दा पनि उस्तै आश्चर्यमा छ । ‘नफुट है, नफुट’ भन्दै हिंडेको चीनलाई लागेको हुनसक्छ–‘जिसका बन्दर वही नचाता’, ती चाहे ओली होऊन्, प्रचण्ड होउन्, माधव होउन् वा बादल नै किन नहोऊन् ।