कोरोनाको नयाँ लहरको खतरा

373
views

काठमाडौं, १०, चैत्र । सरकारले कोभिड–१९ को संक्रमण बढ्नसक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र नियन्त्रणमा प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य संघसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र भारतबाट प्रवेश गर्ने सीमा नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले संक्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि बढाउन भनेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा संक्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जना संक्रमणबाट निको र तीन हजार १६ जना संक्रमणको कारणले निधन भइसकेका छन् ।