अस्ट्रेलियासँगको पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला वेस्ट इन्डिजलाई

796
views

काठमाण्डौं । अस्ट्रेलियासँगको पाँच टी–ट्वान्टी क्रिकेट श्रृङ्खला घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाडि नै जितेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले श्रृङ्खला जितेको हो । अस्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

वेस्ट इन्डिजका क्रिस गेलले ६७ रनको अर्धशतकीय पारी खेले । योसँगै गेलले टी–ट्वान्टी क्रिकेटमा १४ हजार रन पनि पूरा गरेका छन् । कप्तान निकोलस पुरन ३२ रनमा अविजित रहे । अस्ट्रेलिया राइली मेरिडिथले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि सेन्ट लुसियामा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । अस्ट्रेलिया मोइजेस हेनरिक्सले सर्वाधिक ३३ रन बनाए । त्यस्तै कप्तान आरोन फिन्चले ३०, एस्टन टर्नरले २४, म्याथ्यु वेडले २३ रन जोडे । वेस्ट इन्डिजका हेडेन वाल्स जुनियरले २ विकेट, ड्वेन ब्राभो, फबिएन एलेन र ओबेद म्याककोयले एक÷एक विकेट लिए ।

पहिलो खेलमा वेस्ट इन्डिज १८ र दोस्रो खेलमा ५६ रनले विजयी भएको थियो । चौथो खेल बिहीवार हुनेछ ।