एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने

476
views

रुपन्देही, ६, भदौ । लुम्बिनी प्रदेश सभा सचिवालयले एमालेका दुई सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले सांसदद्वय शाही र वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।

प्रदेश सभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भएपनि उनीहरूले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

पत्रमा अजय शाही स्वतन्त्र समूहबाट चुनावमा सहभागी भएको र व्यक्तिगत विवरण पनि स्वतन्त्र समूहको तर्फबाट नै रहेको उल्लेख छ । नेकपाको तर्फबाट निर्वाचित विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफू कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गर्नुभएको छ ।