कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान

उपसभापति, महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार को–को ?

378
views

काठमाण्डौ, २७ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान हुन लागेको हो । बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चुनावमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि कागजको मतपत्रमा नै मतदान गर्नुपर्दा एक जनालाई मतदान गर्न झण्डै एक घण्टा लाग्ने अनुमान रहेको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी, सदस्यहरूमा खुलातर्फ ३५ समेत गरी १ सय २१ जना विभिन्न प्रदेश तथा समावेशी समूहबाट गरी निर्वाचित हुनेछन् । यसरी कुल १ सय ३४ जनाको कार्यसमिति निर्वाचनमार्फत चयन हुने विधानको व्यवस्था छ ।

सभापतिमा ५ जना, उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी, आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम भएको छ ।

देउवा समूह पहिलो चरणमै आशावादी, दोस्रो चरणमा लैजाने अरु समूहको नीति

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा भने देउवा र कोइरालाबीच हुने निश्चित छ । कांग्रेस विधानअनुसार, सभापतिमा विजयी हुन ५० प्रतिशत मत कटाउनुपर्छ ।

कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुन्छ । पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ ।

छुट्टाछुट्टै प्यानल बनाएका कोइराला, सिंह र निधिले भने चुनावलाई दोस्रो चरणमा लैजाने नीति लिएका छन् । दोस्रो चरणमा पुर्याउन सकेमा सबै एक ठाउँमा उभिएर देउवामाथि दबाब बढाउन सकिने उनीहरुको बुझाइ छ । पहिलो चरणमा विजयी हुन नसकेमा दोस्रो चरणमा जोखिम हुने ठानेर देउवाले मैदानमै उत्रिएर मत माग्नुभएको छ ।

उपसभापति, महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार को–को ?

उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उम्मेदवार बनेका छन् । यस्तै, डाक्टर कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार बनेका छन् । सिंहको समूहबाट नेत्री सुजाता कोइराला र निधिको समूहबाट दिवेश्वरी शाह उपसभापतिको उम्मेदवार हुनुहुन्छ । यसैगरी, नेता महेश आचार्यले समेत उपसभापतिमा उम्मेदवारी दिनुभएको छ । कांग्रेस विधानमा दुई उपसभापति निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।

यसैगरी, दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । देउवाको समूहबाट डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल, कोइरालाको समूहबाट गगन थापा र डाक्टर मिनेन्द्र रिजाल, सिंहको समूहबाट विश्वप्रकाश शर्मा र निधिको समूहबाट डाक्टर राजाराम कार्की महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, विभिन्न आठवटा क्लस्टरबाट छानिने आठ जना सहमहामन्त्रीका लागि १९ जना उम्मेदवार बनेका छन् । देउवा समूहबाट महिला सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्दाम्बे, दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारू सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार छन् ।

कोइराला समूहबाट आठ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारूतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे, मुस्लिमतर्फ शेख वकिल र अल्पसङ्ख्यकतर्फ बद्री पाण्डे उम्मेदवार छन् । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५ सय ९ जनाको उम्मेदवारी परेकोमा ५५ जनाले समेत सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।