उपत्याकामा रातो मच्छेन्द्रनाथको भोटो देखाइने

751
views

काठमाडौँ, ३०, बैशाख । उपत्याकामा करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिने भोटो जात्रा रातो मच्छेन्द्रनाथको भोटो देखाईदै छ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको हो सो जात्राका लागि उपत्याकामा सार्वजनिक विदा दिइएको छ ।

जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।

यस्तो छ भोटो जात्राको किम्बदन्ती
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा शुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन् ।

मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरु भएको हो । किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणिमाणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।