फोहोर व्यवस्थापनमा सिमखेत यूवा क्लव सक्रिय

927
views

रोशन तिवारी
पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा एक क्लवले वडाभरि फोहोर व्यवस्थापन गर्ने अभियान शुरु गरेको छ । फलेवास ३ शंकरपोखरी साविकको शंकरपोखरी ३ मल्याङ्दीखोला स्थित सिमखेत यूवा क्लवले फोहोर व्यवस्थापन गर्न थालेको हो । क्लवले गाउँका सबै टोल र घरमा फोहोर फाल्ने डस्टविन वितरण गर्न थालेको छ ।

गाउँलाई फोहोर बाट मुक्त गर्न र गाउँको सौन्दर्यता जोगाउन डस्टविन वितरण गर्न थालिएको क्लवका अध्यक्ष सरोज खनालले जानकारी दिनुभयो । उहाँले गाउँभरि करिव २ सय डस्टविन वितरण गर्नुपर्ने देखिएको छ । नगरपालिका भएपनि नगरपालिकाले फोहोर व्यवस्थापन नगर्ने भएकाले नगरपालिकाले गर्ने काम क्लवले थालेको हो । क्लवले बिद्यालय, मन्दिर, दोबाटो, स्वास्स्थ्यचौकीहरुमा डस्टविन राख्न थालेको छ । साथै सार्वजनिक स्थलमा नियमित सरसफाई समेत गर्ने काम थालेको अध्यक्ष खनालले बताउनुभयो ।

क्लवले फोहोर व्यवस्थापनका लागि डस्टविन किन्नका लागि क्लव संग रकमको अभाव रहेको छ । क्लवले विभिन्न सामाजिक अगुवासंग रकम संकलन गरि डस्टविन खरिद गरि बितरण गरिरहेको छ । क्लवले मल्याङदीखोलाको सिसाठाँटी सिद्धी बिनायक मन्दिरबाट डस्टविन बितरण गर्न थालेको छ । क्लवले उक्त मन्दिर वरपरको वाताबरण स्वास्थ्य राख्न भन्दै ४ वटा डस्टविन वितरण गरेको छ । क्लवले थालेको अभियानलाई धेरैले प्रसंसा गरेका छन् ।

सरकारी निकायले गर्नुपर्ने काम क्लवले थालेको भन्दै स्थानीयले क्लवलाई आर्थिक रुपमा पनि सहयोग गर्न थालेका छन् । क्लवले डस्टविन सहयोग गरेकोमा सिसाठाँटी सिद्धी बिनायक मन्दिर व्यवस्थापन समितिले शिवरात्रीको अवसरमा क्लवलाई सम्मान गरेको छ । क्लवका अध्यक्ष सरोज खनाललाई सम्मानपत्रले सम्मान गरेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारी, वडाध्यक्ष अर्जुनबहादुर कार्की लगायतले खनाललाई सम्मानपत्र प्रदान गरेका थिए ।