मोदी नदी सुख्खा बनेपछि असला माछा लोप

2849
views

महेन्द्र जिसी
पर्वत, ७, फागुन । विद्युतीय ऐन र वातावरणीय ऐन अनुरुप जलविद्यूत उत्पादन गर्दा नदीमा २० प्रतिशत पानीको बहाव छोड्नुपर्ने हुन्छ । जलचर र पर्यावरणीय संरक्षणको लागि नदीको पुरै पानी बन्द गर्ने गरी आयोजना सञ्चालन गर्न पाईदैन । तर पर्वतको मोदीखोलामा सञ्चालीत जलविद्यूत आयोजनाहरुले नदी सुकाएर विद्यूत उत्पादन गर्दा मोदीका असला माछा लोप हुनुको साथै खानेपानी र सिँचाईका मुहान सुक्न थालेका छन ।

नदी नै सुकाएर विद्युत गृहमा पानी पठाउँदा नदीमा हुने जलचर लोप हुनुको साथै नदी आसपासका क्षेत्रमा खानेपानीको समस्या समेत हुन थालेको हो । सातवटा जलविद्यूत आयोजना भएको मोदी खोलाको पानी वर्षादमा बग्ने गरेको भएपनि हिँउँद लागेसँगै नदीमा बग्न पाउँदैन ।

मोदी नदीमा पानी सुक्दा सामुदायिक बनको नष्ट गर्न सहज बन्नुका साथै वन्यजन्तु र जलचर प्राणी प्रभावित बनेको स्थानीयको भनाई छ ।

पोखरा–वाग्लुङ राजमार्ग नजिक हुँदे बहने मोदी खोलामा मध्य मोदी जलविद्यूत आयोजना, युनाईटेड मोदी, मनाङ ट्रेनिङ, चौधरी ग्रुप, अपर मोदी, पुरानो मोदी खोला जलविद्युत अयोजना, तल्लो मोदी खोला जलविद्यूत आयोजना गरी सात आयोजनाहरुका कारण मोदी नदीमा पानी सुकेको छ ।

मोदी नदीमा सञ्चालित सबै जलविद्युत आयोजनाहरुले नदीको मुहान सुख्खा बनाएर पानी क्यानलबाट विद्युत गृहमा पानी पठाउँदा हिउँदको समयमा तीन किलोमीटर नदीमा पानी बग्दैन । कतिपयले मोदी नदीमा पाईने असला माछालाई अर्थोपार्जनको माध्यम बनाउँदा पनि असला माछा संकटमा परेको छ ।  

नदीमा पानी नबग्दा पर्यावरणीय असर पर्नुको साथै सुख्खा महिनामा वन्यजन्तुको साथै जलचरहरुमा समेत असर परेको वन डिभिजन कार्यलय पर्वतले जनाएको छ ।

कार्यलयका सूचना अधिकारी केशव पुडासैनीले विकास र प्रकृतिको सन्तुलन कायम नगरी विकास गर्दा संकट निम्तिने खतरा रहको बताउँदै जलचर लोप हुने खतरा बढेको बताए ।

नदी नै सुकाएर विद्युत निर्माण गर्दा नेपालमै दुर्लभ मानिएको असला माछा, रहु र भोटी माछा लोप हुनुको साथै आसपासका वन जङगलका बन्यजन्तुको अस्तित्व संकटमा परेको छ भने स्थानीयले पिउने पानीको समस्या परेको छ । नदी सुख्खा बनाउँदा नदी आसपासको हिँउदे धान र खेतीबालीमा समेत असर परेको छ ।