पर्वतमा अत्यावश्यक बाहेक सवै सेवा बन्द

831
views

पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज दिउँसोदेखि सवैजसो सेवा ठप्प गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले दिउँसो २ बजेदेखि अन्तरजिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएको छ भने अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गर्न अनुरोध गरेको छ ।

दुध, तरकारी, फलुफुल औषधी पसल, पेट्रोलियम पदार्थहरु बाहेक सवै पसल बन्द गर्ने निर्णय भएको छ । त्यसैगरी मध्यपहाडी लोकमार्गको डिमुवामा संचालित हेल्थ डेस्कलाई निरन्तरता दिने र हिजोको निर्णय अनुसार अन्य सात स्थानमा तत्काल हेल्थ डेस्क स्थापना नगर्ने निर्णय भएको छ ।

त्यस्तै कुश्माबजारमा बनाउन लागिएको १५ बेडको आईसोलेशन वार्डका लागि स्थानीय तहहरुले रु ५० लाख रुपैया र संघीय सरकार र प्रदेश सरकारवाट बजेट माग गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आम नागरिकहरुलाई त्रसित र आतंकीत बनाउने गरी सामाजिक संजालमा समाचार तथा सुचना प्रकाशन गर्ने व्यक्तिहरुलाई कारवाहि गर्ने निर्णय पनि वैठकले गरेको छ । वैठकले सवै नागरिकहरुलाई घरभित्रै बस्न र अनावश्यक बाहिर ननिस्किन आग्रह गरेको छ ।