झाडापखालाले २६५ बिरामी, एक बालिकाको मृत्यु

751
views

महोत्तरी, १०, असोज । महोत्तरीको जलेश्वर–१२ नैन्ही गाउँका स्थानीय झाडा पखालाले आक्रान्तमा परेका छन् । एकैदिन २१ जनासम्म झाडापखालाका बिमारीहरु फेला परेका छन् ।

गत भदौ २९ गतेदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छैन् । मंगलबार झाडापखालाका २१ बिरामी फेला परेसँगै पीडित हुनेको संख्या २ सय ६५ पुगेको उपचारका लागि स्थापना गरिएको स्वास्थ्य शिविरका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए ।

सोमबार २८ जनामा झाडापखालाको समस्या देखिएको थियो । झाडापखालाबाट हालसम्म ४५ जना गम्भीर बिरामी परेका छन् । २५ जनालाई शिविर र २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर रेफर गरिएको थियो । असोज २ गतेयता चौबीसै घण्टा स्वास्थ्य शिविर सञ्चालनमा छ । ४ वर्षीया खुश्वु खातुनको झाडापखालाका कारण ज्यान गइसकेको छ ।

गाउँको मदरसा सात दिनदेखि बन्द छ । मदरसामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा आएकाहरूलाई भुइँमै राखेर उपचार गर्ने गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरबाट नैन्ही गाउँमा टोली परिचालन गरिएको डा. राजीव झाले जनाए ।

स्थानीयका अनुसार भदौ २५ गतेतिर गाउँमा भारतीय बजार सुरसन्डबाट एक व्यापारी माछा बिक्री गर्न आएका थिए । उनले राखेको माछाको भाउ अनौठो थियो, १ सय रुपैयाँमा ३ किलो माछा ! यो चल्तीको बजारभाउभन्दा सस्तो हो । बजारमा एक किलो माछाको भाउ ३ सय रुपैयाँभन्दा बढी पर्छ । स्थानीय राजु यादवका अनुसार ती व्यापारी नैन्हीका धेरैलाई १ सय रुपैयाँमा तीन किलो माछा बेचेर गएका थिए । स्थानीयले उक्त माछा पकाएर खाएपछि झाडापखालाले बिरामी पर्न थालेको जनाइएको छ । ‘भारतीय व्यापारीले बिक्री गरेको माछा धान खेतको विषादीयुक्त रहेको शंका छ’, नैन्हीका वडाध्यक्ष रामतपेश्वर ठाकुरले भने । कुहिएको माछा खाएकाले झाडापखाला लागेको हुन सक्ने अनुमान गरिए पनि खास कारण खुलेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंको टोलीले खानेपानी र दिसाको नमुना संकलन गरी परीक्षण गर्न लगेको छ । ‘परीक्षण रिपोर्ट आएपछि झाडापखाला फैलिनुको कारण खुल्नेछ’, प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, ‘विपद् व्यवस्थापन समितिको बैठक बसेर झाडापखालाको प्रकोप नियन्त्रणमा सक्रिय हुन सरकारी तथा गैरसकारी सबै निकायलाई निर्देशन गरिएको छ ।’ उनका अनुसार झाडापखाला अरू स्थानमा फैलिन नदिन सतर्कता अपनाइएको छ ।