सुविसु ईन्टरनेटले झुलायो मालपोत

1659
views

महेन्द्र जिसी
पर्वत, ११, असोज । मालपोत कार्यालय पर्वतमा विभिन्न काम लिएर आएका सेवाग्राहीहरु कतिबेला काम होला भन्दै टुलुटुलु हेर्छन् । तर उनीहरुको काम समयमा बन्दैन । जिल्लाको विकट क्षेत्रबाट काम लिएर मालपोत आउने सेवाग्राही त झन होटलै बुकिङ गर्नुपर्ने बाध्यतामा छन् ।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्र्तगत भूमि व्यवस्थापन अभिलेख विभागले शुरु गरेको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एल.आर.आई.एम.एस) अनलाईन सेवाले सेवाग्राहीले सास्ती खेपेका हुन् । सरकारले सुविसु नेटवर्क प्रालिलाई ईन्टरनेटको जिम्मा दिएपनि मालपोत कार्यालय पर्वतमा ईन्टरनेट स्लो भएका कारण सेवाग्राहीको काम समयमा हुँदैन् । त्यसैमा पनि दक्ष कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

दिनभरी लाईनमा बसेपनि काममा ढिलाई भएपछि सेवाग्राही मर्कामा परेको सेवाग्राही तुलसी गिरी बताउँछन । एउटै कमका लागि चारदिन सम्म कुरेर बस्नुपर्ने बाध्यता रहेको गिरी बताउँछन् ।

अनलाईन सेवा र्माफत छिटो र छरितो रुपमा काम होला भन्दा कागजे प्रक्रियामा एउटै सेवाग्राहीको १५÷२० मिनेटमा गर्न सकिने काम एकघण्टा भन्दा बढी लाग्ने मालपोत कार्यालय पर्वतका सूचना अधिकृत मुकुन्द लामिछाने बताउँछन् । गत भदौ २४ गतेबाट अनलाईन सेवा प्रणालीको शुरुवात भएको हो लामिछानेले भने ‘मन आत्तिएर भएन स्लो ईन्टरनेटका कारण सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सकेका छैनौं ।’

मालपोतबाट हुने नामसारी, रोक्का, फुकुवा, लिखत पारीत, जग्गा दर्ता संशोधन, श्रेष्ता एकिकरण लगायतका सम्पूर्ण काम गर्न सेवाग्राही लाईनमा बस्नुपर्ने बाध्यता छ । कार्यालयले सुविसु नेटवर्क प्रालिका कारण सेवाग्राही मर्कामा परेको जनाएको छ । ईन्टरनेट निकै स्लो छ कार्यालयका कम्प्युटर अपरेटर उमेश सापकोटा भन्छन् ईन्टरनेटमा सुधार नभएसम्म सेवाग्राहीको काम छिटो छरितो रुपमा गर्न गर्न सकिदैन् ।’

गत भदौ २४ गतेबाट शुरु भएको यस सेवामा लिखत पारीत ३५ वटा, रोक्का १००, नामसारी १७, संशोधन १० र फुकुवाका ९५ वटा मात्र काम भएको कार्यालयले जनाएको छ । काम भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एल.आर.आई.एम.एस) अनलाईन सेवा पर्वतमा ३१ औं कार्यालय हो ।

सरकारले नेपाल टेलिकमको भरपर्दो ईन्टरनेट सेवालाई वेवास्था गर्दै प्राईभेट कम्पनी सुविसु नेटवर्क प्रालिलाई ईन्टरनेटको जिम्मा दिंदा सेवाग्राही मर्कामा परेका हुन् ।