‘प्रधानसेनापति छैठौं अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु

838
views

काठमाडौं । नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालित ‘प्रधानसेनापति छैठौं अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच समुद्घाटन गरेका हुन् । ‘प्रधानसेनापति छैठौं अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’मा विभागिय टिमहरु लगायत प्रथम पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको छ ।

२०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी क्रमशः प्रथमलाई रु. तीनलाख रुपैयाँ, द्वितियलाई रु. एकलाख पचासहजार रुपैयाँ र तृतियलाई रु. पचासहजार रुपैयाँ नगद पुरस्कारका साथै उत्कष्ट खेलाडीलाई यामाहा कम्पनिको स्कुटर समेत रहेको छ ।

प्रदेश नं ७ विजयी

जङ्गी अड्डास्थित खेल मैदानमा प्रदेश नं.१ र प्रदेश नं.७ वीच भएको खेलमा प्रदेश नं.७ विजयी भएको छ । प्रदेश नं १ लाई १ का विरुद्ध २ गोल हानि प्रदेश नं ७ विजयी भएको हो ।

सैनिक शारीरिक तालिम केन्द्र लगनखेलस्थित खेल मैदानमा प्रदेश नं.३ र प्रदेश नं.४ वीच भएको खेलमा प्रदेश नं.३ ले १ को विरुद्ध ४ गोल हानी विजयी भएको छ ।

आज भएको खेलहरुमा प्रदेश नं.३ की मनिषा थापा मगर र प्रदेश नं.७ की अञ्जली चन्द ’प्लेयर अफ दि म्याच’ घोषित भएका थिए । प्लेयर अफ दि म्याच अञ्जली चन्दलाई प्रधानसेनापति थापाले पुरस्कार समेत वितरण गरेका छन् ।

मंसिर १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताका सबै खेलहरु नक आउटका आधारमा खेलाइने छ ।