पन्ध्रौँ चितवन हात्ती महोत्सव

875
views

भरतपुर । सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहेको छ ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।