पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार, एक घाईते

883
views

मोरङ– पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

प्रर्दशनकारीहरुले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर तोडफोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रण गर्दै दुई राउण्ड अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

प्रहरीको लाठी प्रहारबाट एकजना गम्भिर घाईते भएका छन् ।सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरिरहेका छन् ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ ।

पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए ।

वैशाख ६ गते राति स्थानीय रङ्गशालामा सञ्चालन भएको साङ्गीतिक कार्यक्रम हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी बस्नेत वैशाख ७ गते बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।