महिला सशक्तिकरण तथा समान अधिकारका लागि ३ दिने गोष्ठी सम्पन्न

556
views

पोखरा, ३, असार । यु.एन.आई ग्लोबल युनियन नेपाल समन्वय परिषद्को आयोजना तथा यु.एन.आई नेपाल वुमन कमिटिको समन्वयमा महिला सशक्तिकरण तथा समान अधिकार सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

समानता कायम हुन नसक्नुमा लैगिंक हिंसा मुख्य कारण रहेको, आफन्तहरु र घरैबाट पनि महिलाहरु असुरक्षित रहेकाले उनीहरुलाई सक्षम, सफल, आत्मविश्वासी र सशक्त हुनका निम्ति श्रमिक महिलाहरुका लागि बनेका एन कानून र अधिकारबारे जानकारी गराई सशक्त बन्न अभिप्ररित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

घरायसी काम गर्ने महिलाहरुदेखि लिएर विभिन्न संघसंस्थामा काम गर्ने श्रमिक महिलाहरुलाई एकताबद्ध गराई, नेतृत्वदायी भुमिका निर्वाह गर्नका निम्ति क्षमता वृद्धि गर्ने, आफ्ना हक अधिकारका बारेमा जानकारी गराउनले हेतुले कार्यक्रमको आयोजना गरिएको यु.एन.आई ग्लोबल युनियन नेपाल समन्वय परिषद्का अध्यक्ष शंकर लामिछानेले बताउनुभयो ।

युनियनमा महिलाहरुको सहभागिता एकदमै न्युन भएको र उनीहरु सबैलाई एकजुट नगराएसम्म युनिन सफल नहुने यु.एन.आई नेपाल लाईजन परिषद्का अफिसर एवं कार्यक्रम संयोजक आलोक मल्लले बताए ।

महिला सशक्तिकरण र समान अवसर सम्बन्धि ३ दिने कार्याशालालाई सहजिकरण गर्दै यु.एन.आई नेपाल महिला कमिटिका महिला सदस्य तथा नेपाल व्युटिसियन संघका कोषाध्यक्ष वविता पौडलले अधिकार र समान अवसर प्राप्तिका लागि महिलाहरु एकजुट भएर हिंड्नुपर्ने बताइन् ।

कार्यक्रमका अर्का सहजकर्ता सुर्वण कुमार कर्माचार्यले महिला अधिकारका लागि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा भएका कानूनी प्रावधानका बारेमा जानकारी गराए ।

त्यस्तै महिला हेरक क्षेत्रमा सफल हुनका लागि हिंसा, विभेदबाट बच्न सधैँ आत्मविश्वास र आत्मबल उच्च बनाउनुपर्ने र आफ्ना लागि आफैले आवाज उठाउनुपर्ने सहजकर्ता प्रतिमा भट्टको भनाई थियो ।

सहभागिको तर्फबाट आफ्ना भनाई राख्दै नेपाल निजामति कर्मचारी संघ कास्की, सडक डिभिजन कार्यालय पोखराका प्राविधिक नायव सुब्बा गंगा कुमारी थापाले कार्यक्रम अत्यन्तै फलदायी भएको र यस्ता कार्यक्रम शहरी क्षेत्रसंगसंगै ग्रामिण क्षेत्रमा समेत गरिएमा त्यहाँका महिला दिदिबहिनीहरुलाई पनि काम गर्न थप उर्जा मिल्ने बताईन् ।

जेठ ३१ गतेदेखि असार १ गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रममा यु.एन.आईमा आबद्ध नेपाल वित्तिय कर्मचारी संघ, नेपाल टेलिकम वर्कस यनियन, रेडियो नेपाल कर्मचारी युनियन, नेपाल कर्मचारी युनियन संघ, अखिल नेपाल सेक्युरिटी मजदुर युनियन, नेपाल ब्युटिसियन संघ, नेपाल सौन्दर्यकर्मी युनियन नेपाल लगायत विभिन्न क्षेत्र, संघसंस्थामा कार्यरत करिव ३० जना महिलाहरुको उपस्थिति रहेको थियो ।

यु.एन.आई सेवा क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वतन्त्र अन्तराष्ट्रि महासंघ हो जसमा सेवा क्षेत्रमा काम गर्ने १५० राष्ट्रका विभिन्न राजनैतिक आस्था भएका करिब २ करोड श्रमिकहरु आबद्ध छन् भने यु.एन.आइ नेपाल, नेपालमा रहेका यु.एन.आइमा आबद्ध सेवा क्षेत्रका श्रमिक युनियनहरुको समन्वय परिषद हो । यसमा हालसम्म १८ युनियनका १ लाख भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन् ।