देश खोज्दै जाँदा

1540
views

–कमल ढुङ्गाना
बर्षौदेखी देश खोज्दै हिडिँरहेको म
केवल ग्लोबमा मात्रै देखेँ देशको नक्सा
देशमा आजसम्म देश भेटिएको छैन
भेटिए सडक छेउँमा भाचिँएको रुख झै
छाप्रो बनाएर बसेका हुलका हुल मानिसहरु
भेटीए आँखामा देश राखेर हिडेँका गैरनागरिक
जस्ता देखिने मान्छेहरु

देश खोज्दै जाँदा
ईतिहासमा मात्रै भेटिए देशका सिमाहरु
पढियो पुर्खाहरुको रगतले भिजेको हो देशको माटो
सिकाईयो देशभक्ति, देशप्रेम
देखियो तिनै देशभक्तहरुको हातमा बन्दूक
देखीए देशवासी भएर पनि नागरीकता नपाएकाहरुको जमात
देश खोज्दै जाँदा मैले देश कहीँ भेटिन ।

देश खोज्दै जाँदा
भेटिए देशमा नेताहरुका ठूला–ठूला बार एण्ड रेस्टोरेंटहरु
भेटिए ठाउँ ठाउँमा नेताहरुका जुवाघरहरु
भेटिए केही बेश्यालयहरु पनि
सुनिए त्यही बेश्यालय भित्र विवश नारीहरुका चित्कारहरु
देखिए भोकले माटो खाईरहेका बालकहरू
देखिए भोक सहन नसकेर आत्महत्या गर्ने परिवारहरु
देखियो देश भित्रभित्रै खुकुलो भएको
देश खोज्दै जाँदा मैले देश कहीँ भेटिन
सरकार के देश भनेको देशको नाम मात्रै हो ?
टिकापुर कैलाली