प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

520
views

काठमाडौं, २, पुस । हतारमा जारी अध्यादेश फिर्ता लिने सहमति भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले आशंका व्यक्त गरेका छन् ।

सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएपछि संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु शीतल निवास पुगेपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिार्त लिने निर्णय गरेका थिए ।

बुधबार नेकपा शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने र संसद अधिवेशन बोलाउन माग गर्दै नेकपाका ८३ सांसदले गरेको हस्ताक्षर सहितको निवेदन फिर्ता लिने सहमति भएको थियो ।

प्रधानमन्त्री निकट नेताहरुले भने यसअघिकै बैठकको निरन्तरता स्वरुप अनौपचारिक छलफलका लागि बैठक बोलाएको तर्क गरेका छन् ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले बताएको छ । बैठक किन बोलाइएको भन्ने खुलेको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।

तर कांग्रेस सभापति देउवा भने उक्त बैठकमा नजाने उनीनिकट स्रोतको भनाई छ ।