पर्वतको सिल्मीका पहिरो पीडितलाई आर्थिक सहयोग

751
views

नम्रता शर्मा
पर्वत, ३०, भदौ । कुश्मा नगरपालिका–११ का पहिरो पीडितलाई हेम एण्ड माया थापा फाउण्डेसन अमेरिकाले आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पदम राई र गुप्त हमाल ठकुरीको समन्वयमा पकुवा सिल्मीका पीडितहरुलाई आर्थिक सहयोग गरिएको हो ।

नेपालको तेह्रथुम घर भएका समाजसेवी हेम थापाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त रकम सहयोगको व्यवस्थापन माओवादी केन्द्रका जिल्ला सदस्य भिम बहादुर नेपालीले गरेका थिए ।

आर्थिक सहयोग स्वरुप उपलब्ध भएको सो रकम नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष एवं युवा नेता शंकर गिरीले हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै युवा नेता गिरीले बाढी पहिरोले पर्वतमा अकल्पनीय घटना घटाएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पहिरो पीडित डम्बर बहादुर नेपाली, पदम नेपाली, होम बहादुर नेपाली, लेख बहादुर नेपाली, डिल बहादुर सार्की, दुर्गा नेपाली, मनिलाल पौडेल र प्रदीप अधिकारीलाई हस्तान्तरण गरिएको हो ।