काँग्रेसको महाधिवेशन र वैधानिकताको प्रश्न

612
views

-बद्रिनरसिंह के.सी.
आफ्नो चौधौं महाधिवेशनको मिति र कार्यतालिका पाँचौ पटकसम्म रद्द गर्दै, बल्लतल्ल छैठौं पटकमा नेपाली काँग्रेसले भदौ २३ गतेदेखि पार्टी महाधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ । पार्टीको होस् वा भातृसंस्थाहरूको, अधिवेशन गर्न भनेपछि नेपाली काँग्रेसको नेतृत्वलाई जीवन-मरणको सवाल आएजस्तो डर लाग्छ । महाधिवेशन गर्नुपर्ने वैधानिक म्याद घर्किएपछि महाधिवेशनको नयाँ तिथि र कार्यतालिका तोकिएकोले त्यो कति वैधानिक वा कानुनसम्मत होला, यसबारे बहस हुनु आवश्यक देखिन्छ । संविधानको धारा २६९ को उपधारा ४ (ख) अनुसार पार्टीको वैधानिक अस्तित्व बचाउनको लागि पार्टी विधानअनुसार चारवर्षे कार्यकालमा काँग्रेसले आफ्नै निणर्यद्वारा एकवर्ष कार्यकाल थप्न पाउने र थपिएको एक वर्षभित्रमा महाधिवेशन गर्न नसकेमा संविधान बमोजिम थप छः महिनाको आखिरी म्याद पाउने सुविधा पनि काँग्रेसले लिइसकेकोले भदौ २३ गते उसको वैधानिक अस्तित्वको सम्पूणर् म्याद सकिएको मिति पर्दछ ।

२०६२ देखि विगत १६ वर्ष काँग्रेसका गतिविधि कम्युनिस्ट पार्टीको स्याटेलाईट जस्तो भएर वा उनीहरूको टाङ्मुनि छिर्ने निर्लज्जता प्रदर्शन गर्दै बितेको छ ।

काँग्रेस नेतृत्वले पार्टीको महाधिवेशन गर्न नसकेको होईन नचाहेको बुझिन्छ । एकपटक पार्टी फुटाईसकेका हातमा काँग्रेसको नेतृत्व परेको छ । २०६२ देखि विगत १६ वर्ष काँग्रेसका गतिविधि कम्युनिस्ट पार्टीको स्याटेलाईट जस्तो भएर वा उनीहरूको टाङ्मुनि छिर्ने निर्लज्जता प्रदर्शन गर्दै बितेको छ । पछिल्लो सत्ता समीकरणमा पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउबाको रवैया त्यस्तै देखिएको छ । गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरूङ्, प्रदीप पौडेल, डा. चन्द्र भण्डारीजस्ता पार्टीका नयाँ तथा उदीयमान एवं युवापुस्तामा आत्मविश्वास, स्वाभिमान र जागरुकता छ भने नेतृत्वले मनपरि रुपमा चलाईरहेको स्वेच्छाचारी र पार्टी हित विपरीतका गतिविधिमा अंकुश वा लगाम लगाउने किसिमले सक्रियता देखाउनु जरुरी छ । यसैलाई उपयुक्त दाउ मानेर गणतन्त्रको अचानोमा काँग्रेसलाई बली चढाउने कम्युनिस्ट ब्युहरचना जागृत रहेको देखा परिरहेको छ । खासगरी उदीयमान युवा नेताहरू, पार्टीका बौद्धिक समुदाय र जिम्मेवारीबोध भएका सचेत कार्यकर्ताको लागि यो जरुरी काम हो ।

नेपालका दुई ठूला राजनीतिक दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का घरझगडा जनताले हेर्न नचाहे पनि सडकमा आइपुग्ने गरेका छन् । जिल्लामा गएर १५० किलोसम्मका माला लगाईमाग्ने शिर्ष नेताहरू सद्बुद्धि नभएर चोरबुद्धिले ग्रस्त भइरहेकोमा सुधार चैं कहिले ? यो अनिवार्य प्रश्नमा जवाफदेही हुनबाट नेताहरू उम्किन पाउँदैनन् ।

बाँस फेदबाट चिरिन्छ, तर पार्टी टुप्पाबाट चिरिन्छ । आकृति बोक्रो हो भने प्रकृति त्यसको अन्तर्वस्तु हो । चरित्र ठीक-ठेगानमा छैन भने जति विशाल र भव्य जनमत पाए पनि केही हुन सक्दो रहेनछ । अन्य राजनीतिक व्यवस्थापन मिलाउन नसक्दा दुईतिहाई बहुमत पाए पनि कम्युनिस्ट सरकार बरदानको भेषमा अभिशाप भएर ढल्यो । वर्तमान सत्ता समीकरण र राजनीतिक परिवर्तनका मूख्य व्यक्तित्व माधवकुमार नेपाल हुन् । तर काँग्रेसको काँधमा अर्काको असफलतालाई सम्हाल्ने जिम्मेवारी आईलागेको छ । तर असफलताको सोही पदचिन्हमा हिँड्ने नियत प्रधानमन्त्री देउबाले देखाईसकेको उदाहरण पुनःस्थापित संसदलाई करिब दुईमहिनासम्म बेकाममा अल्झाएर हत्तपत्त संसद अधिवेशन सकेपछि के.पी. ओलीकै शैलीमा अध्यादेश राज चलाउने नियतका साथ ।

काँग्रेसको आन्तरिक ‘संस्थापन’ वा ‘प्रतिपक्ष’ दुवै गुटको नेतृत्वले परिस्थितिबाट शिक्षा र चेतना लिन नसक्नु भयानक समस्या हो । जनपरिचालन हुने ठोस कार्यक्रम दिन नसक्नु, सरसल्लाह र सहमतिले काम गर्ने संस्कार तथा परम्परा मास्दैजानु, हचुवाको भरमा काम गर्ने परिपाटी बसाल्नु, कोठे झुण्डको अल्पबुद्धिको शिकार हुनु नै सभापति शेरबहादुर देउबाको विशेषता बन्नपुगेको छ, जो ढलेको ओली-सरकारको धरोहर हो । विगत पाँच वर्षको अवधिमा उनले काँग्रेस र देशको लागि इतिहासले कदर गर्ने र भावी पुस्ता अनुगृहित हुने कुनै उपयोगी काम गर्न सकेनन् ।

०७४ मा तीनै तहका निर्वाचनहरूमा मतदाताले पार्टीको ‘रुख’ हेरेर भोट हाले, तर नेतृत्वको ‘मुख’ देखेर विचलित भए । निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा र निष्कर्ष बनाउने विषय सुन्नै नचाहने, तीब्र दबाब आएको ४ महिनापछि बल्लतल्ल छलफलसम्म चलाउने तर प्रतिवेदन लेख्नै नचाहने नेतृत्वको नियतबाटै मतदाताको असन्तुष्टि प्रतिबिम्बित हुन्छ । जनताले नेपाली काँग्रेस पार्टी (संस्था) लाई रुचाएका छन्, टिकट किनेर उम्मेद्वार भएका संदीग्ध अनुहारलाई रुचाएनन् । स्वयं प्रधानमन्त्री तथा काँग्रेस सभापति देउबालाई आफ्नै जिल्ला डडेलधूरामा निर्वाचन जित्न हम्मेहम्मे परेको नबिर्सौं । किनकि मतदाताको त्यस्तो मनस्थिति र समग्र परिस्थितिले धेरै कुरा बोलेको छ, यद्यपि उनले यसबाट कुनै शिक्षा लिन नसकुन् ।

२०६२-६३ पछिको कालखण्ड र भुक्तमानले के प्रमाणित गरिसक्यो भने नेपाली काँग्रेस वा माओवादी मिश्रित एमालेको नयाँ अवतार नेकपा, वा अन्य जो भनौँ, सबैसँग फतफताउने कुरामात्र रहेछन्, तर समाधानका सूत्र रहेनछन् । नाराहरू रहेछन्, तर निष्ठा रहेनछ । हेक्का राखौं, नाराले निष्ठा प्रमाणित गर्दैन । बार्दलीबाट फलाक्न वा आँगनमा उभिएर भट्याउन त सबैले जानेका छन् । किनकि भनेर सुनाउन जो पनि खोज्छ, तर गरेर देखाउने क्षमता कसैसँग रहेनछ । नारायणहिटी राजदरबारको प्रभुत्व वा दबदबा समाप्त भएको उत्सब त मनाईयो, तर ‘दिल्ली दरबार’को हालिमुहाली बढेकोमा चिन्ताले छोएन ।

व्यावहारिक दृष्टिकोणमा काँग्रेसको झगडा, ‘लोकतान्त्रिक गणतन्त्र’ का रित्ता ढ्वाङ्हरूको व्यर्थको रन्काई र जसरी होस् आफू शक्तिशाली हुने अन्धो आकांक्षाबाट लक्षित छ । दुवै पक्ष जनता-प्रेमी कार्यकर्ता राख्नभन्दा नेता-प्रेमी ‘मन्थरा’ पाल्न रुचाउँछन् । त्यसमाथि चुनाबमा कहिल्यै पनि ‘रूख’मा भोट नदिएर ‘टिन’, ढ्याङ्ग्रो, भर्याङ्, पुतलीजस्ता चुनाब चिन्हमा भोट हाल्दैआएका अनुशासनहिन ‘काँग्रेस’ अनुहारहरू पनि कुनै न कुनै गुट वा गिरोहका प्रिय भईरहेकै छन् । कतै, ‘नयाँ जोगीको बाक्लो खरानी’ भन्ने उखान चरितार्थ गर्ने खालको चाकरीको खेती पनि चलिरहेको छ । पार्टी सभापति पद, सारा कार्यकर्ताको लागि निष्पक्ष न्यायमूर्ती र भँजाउन नहुने सम्पत्ति हुनुपर्ने हो । तर उनले गुटबन्दी र भागबण्डालाई संस्थागत गर्न, एउटा गुटमा सीमित रहन र ‘कोठेशक्ति र ओठेभक्ति’मै रमाउन खोजेको प्रष्टै भयो । यस्तै अनकौं आपत्तीजनक कार्यशैलीको कारणले गर्दा सभापति देउबाले अब फेरि सभापति हुने योग्यता र औचित्य गुमाईसकेका छन् । उनका प्रति हिजो जो-जसको उत्साह थियो त्यो समेत आज निरासामा परिणत भएको छ । तर उनी नै फेरि पनि पार्टी सभापति ‘निर्वाचित’ भए भने काँग्रेसमा ब्यापारी, कालोधनका मालिक, भ्रष्ट, माफिया र तस्करहरूको बोलवाला निणर्ायक हुनेछ, निष्ठावान्, इमानदार, विचारवान र जुझारु कार्यकर्ताहरूको नाम-निशान मेटिने अवश्यम्भावी छ ।

अर्कातिर नवोदित नेतृत्व र होनहार भनिएको नयाँ पुस्तामा पनि ब्यवहारगत जटिलता र विकृति प्रशस्तै छन् । अहिलेसम्ममा नयाँपुस्ताले नेतृत्वरुपी चिल्लापात देखाइसकेको हुनुपर्ने हो । मनको कुरा भँजाएर वा कोठाको मिटिङ् देखाएर पार्टी चलाउन खोज्नु आफैंमा निरिहता र बिडम्बनाको द्योतक हो । तर नयाँपुस्ता पनि त्यही निरिहता र बिडम्बनाको माखेसाङ्लोमा जेलिनपुगेको छ । हिजो राजतन्त्र रहँदासम्म आफ्ना सबै दोष राजतन्त्रलाई भिराईदिएर नाक जोगाउने उपाय भएको थियो । राजतन्त्र नभएका यी दिनमाचाहिँ काँग्रेसलाई आफ्नो पौरख चलाउन केले छेक्यो ?

गल्तीले बर्वाद भएको मुलुक वा पार्टी सुध्रिन्छ, तर बेइमानीले जानीजानी बिगारेको मुलुक वा पार्टी सुध्रिदैन । बासी बिचार, लङ्गडा तर्क, ठेगान नभएको बोलीबाट अब कुनै पार्टी सञ्चालन गर्न सकिँदैन ।

गल्तीले बर्वाद भएको मुलुक वा पार्टी सुध्रिन्छ, तर बेइमानीले जानीजानी बिगारेको मुलुक वा पार्टी सुध्रिदैन । बासी बिचार, लङ्गडा तर्क, ठेगान नभएको बोलीबाट अब कुनै पार्टी सञ्चालन गर्न सकिँदैन । दम्भ र हठ नछोडेर तदर्थवादी ढर्रामा पार्टी सञ्चालन गर्न खोज्नुबाट पार्टीको खोलभित्र पञ्चायती चरित्रको राजनीतिक कसरतमात्र हुन्छ । कुनै पनि पार्टीले सत्ताको लागि हुरुक्कै भएको आशक्तिलाई नियन्त्रण गरेर जनमुखी विकासका एजेण्डालाई पूरा गर्न ध्यान लगाएको जनतालाई महसुस भएमात्र जनविश्वासको सार्थकता रहनेछ । सुध्रिने मति छैन भने यिनले इज्जतपूर्वक हटिदिनु बाहेक राजनीतिमा अरु विकल्प छैन । त्यसैले काँग्रेस वा कम्युनिस्ट पार्टीहरूमा गुणात्मक सुधार ल्याउन सर्वप्रथम सबै पार्टीका नेताहरूको नियत, आचरण र चिन्तनमा सुधार गर्ने उपचारात्मक कार्यक्रम अत्यन्त जरुरी भएको छ ।