शेरबहादुर देउवा र रामचन्द्र पौडेलबिचमा मन मिल्नुपर्छ” शशांक कोइराला

कोइराला परिवारबाट प्रधानमन्त्रीको दाबी

2169
views

नेपाली राजनीतिमा नेपाली कांग्रेस सबैजसो घटनाक्रममा अग्रस्थानमा आउने गरेको छ । कांग्रेसलाई अहिलेसम्म जनताले पनि साथ दिइरहेका छन् । तर कांग्रेसभित्रको आन्तरिक द्धन्द्धका कारण भने यो पार्टी कमजोर बन्दै गएको बताइन्छ । पछिल्लो समय कोइराला परिवार कांग्रेसको कमजोर पक्ष देखेर चिन्तित बनेको देखिन्छ भने आगामी दिनमा पार्टीलाई नेतृत्व गर्नका लागि कोइराला परिवार भित्रभित्रै जुटिरहेको पाइन्छ । यिनै सन्दर्भमा कोइराला परिवारका एक सशक्त नेता एवम् पार्टीका निर्वाचित महामन्त्री शशांक कोइरालासँको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
-नेपाली जनताले अहिलेको समयमा के खोजिरहेका छन् ?
जनताले अझै पनि अधिकार र विकास खोजिरहेका छन् ।
-अधिकार पाउन अझै बाँकी छ र ?
मधेशी जनताले आफुलाई कुण्ठित भन्छन् नि आफुलाई । त्यसैको लडाईस्वरुप हामीले संविधान संशोधन गर्न खोजेका थियौँ । तर हामी विफल भयौँ । आउँदो दिनमा नेपाली कांग्रेसलाई जिताउनुस्, हामी तपाईहरुको अधिकार सुरक्षित राखिदिन्छौँ भनेर आश्वासन दिएका छौँ ।
-मधेशीको अधिकार सुनिश्चित कसरी गर्नुुहुन्छ ? धेरै चुनौति छ ।
समस्या त छ । तर जनमत भएपछि गाह्रो हुँदैन । नेपालीकांग्रेस भनेको मधेशी जनतासँग सम्बन्धित हो । अरु मधेशी पार्टीहरुले पनि मधेशीको अधिकारका कुरा उठाएका छन् । तर उनीहरुको दल सानो छ । देशैभरी संगठन छैन । त्यसैले नेपाली कांग्रेसले मात्रै संविधान संशोधन गर्न सक्छ ।

-संविधान संशोधनका लागि नेकपा एमाले र माओवादी केन्द्रलगायतका दल मिल्नुपर्छ । कांग्रेस एक्लैले सक्छ र ?
हाम्रो पहिलो प्रयास बहुमत ल्याउने नै हो । कांग्रेसले बहुमत ल्याउने सम्भावना नै छैन । अहिले हेर्दा त्यस्तो लागेको हो । शतप्रतिशतमा १ सय २० प्रतिशत ल्याउने लक्ष्य हुनुपर्छ । त्यसो गर्याे भने ८०–९० प्रतिशत आउन सक्छ । बहुमतको सरकारका लागि हामीले प्रयास गर्नुपर्छ ।
-बहुमत ल्याउनका लागि पार्टी्भित्रको एकताको पनि खाँचो पर्ला नि ?
पार्टी्भित्र एकता त चाहिन्छ । यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको छु । शेरबहादुर र रामचन्द्र दुवै नेतालाई मैले यस विषयमा ध्यानाकर्षण गराउँदै आएको छु । ६० र ४० को भागबण्डाको अन्त्यका लागि सबैको मत एक हुनु जरुरी छ । शेरबहादुर देउवाले हिजोको दिनमा भाग खोज्नुभयो । अब सभापति भइसकेपछि त्यो गर्नुहुँदैन । यो कुरा मैले बारम्बार भनेको छु । रामचन्द्र दाइलाई पनि सभापतिसँगको दुरी कम गर्नका लागि आग्रह गरेको छु । दुवै नेताले मन मिलाउनुपर्रयाे नि । आगामी दिनमा पनि पार्टी्भित्रको एकताका लागि मेरो प्रयास जारी रहन्छ ।
-नेपाली कांग्रेसको शक्ति के हो ?
कांग्रेसको शक्ति तीनवटा छ । पहिलो शक्ति सिद्धान्त हो । दोस्रो कांग्रेसको इतिहास र तेस्रो कार्यकर्ता हुन् ।
-शीर्ष नेताका कारण कार्यकर्ता विभाजित भएपछि त्यो शक्ति कमजोर हुँदैन ?
कार्यकर्ता विभाजित हुनु भनेको कांग्रेस कमजोर हुनु हो । त्यसैले मेरो अन्तिम प्रयास भनेकै पार्टीलाई एक बनाउने हो ।
-आगामी चुनावको टिकट वितरणमा भागबण्डाको अन्त्य गर्न सक्नुहुन्छ ?
जित्ने मान्छे र असल मान्छेलाई टिकट दिनुपर्छ । हाम्रालाई छोडेर राम्रालाई टिकट दिनुपर्छ । अब त टिकट वितरण केन्द्रबाट गर्नुहुँदैन भनेर पार्टीमा कुरा राखेको छु । देश नै संघियतामा गइसकेको छ । अब चुनावको टिकट वितरण पनि सम्बन्धित ठाउँबाट नै हुनुपर्छ । क्षेत्र र जिल्लाबाट आएको नाम पार्टीले अनुमोदन गर्न सक्नुपर्छ । जिल्लामा भएको आन्तरिक विभाजनको पनि अन्त्य गर्नुपर्छ ।
-कोइराला परिवारको एकता बढ्दै गएको देखिन्छ । यो के का लागि हो ?
मैले पार्टी्भित्र एकताको सन्देश दिनका लागि घरबाट नै सुरु गरेको हुँ । सबैभन्दा पहिला शेखर र सुजातालाई मिलाउनुप¥यो नि ।
-सत्तामा जानका लागि तयारी गर्नुभएको छ होइन ?
सत्ताका लागि नै एकताको प्रयास गरिएको होइन । मेरो भावना विश्वेश्वर कोइरालासँग मिल्छ । विपिले कुनै बेला परशुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउन खोज्नुभएको थियो । पार्टीको गरिमा बढाउनका लागि उहाँले त्यसो गर्नुभएको हो । त्यसैले मेरो पनि प्रधानमन्त्री बन्ने अभिप्राय नै छैन । मेरो लक्ष्य भनेको कांग्रेसलाई बचाउने र देशलाई समृद्ध बनाउने हो ।

-प्रदेश र संसदको चुनावपछि कोइराला परिवारबाट प्रधानमन्त्री बन्ने सम्भावना कत्तिको छ ?
हुन सक्छ । किन नसक्नु । शेखर दा, म, सुजाता । हामीबिचमा कुनै वादविवाद छैन । संसदीय दलको निर्वाचनमा हामीहरुमध्ये एक जनाले उम्मेदवार दिन्छौँ ।
-शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई विस्थापित गर्ने रणनीतिमा कोइराला परिवार हो ?
त्यस्तो होइन । विस्थापित भन्ने शब्द नै प्रयोग नगर्नुस् । म कुनै पनि नेतासँग प्रतिस्पर्धा गर्दिन । मेरो प्रतिस्पर्धा गरिबी र बेरोजगारी विरुद्धमा हुन्छ ।
-कांग्रेस पार्टी्भित्रको फोहोरमैला हटाउन सक्नुभएको छैन । देशबाट गरिबी कसरी हटाउनुहुन्छ ?
हो, सबैभन्दा पहिला पार्टीलाई शुद्धीकरण गर्ने हो । त्यसपछि कोइराला परिवार एक भएर देशको नेतृत्व गर्ने हो । तर हामी पार्टी्भित्र कुनै पनि मतभिन्नता र विवाद नआउने गरी अगाडि बढ्छौँ । रिपोर्टर्स नेपालबाट